
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ५ असार
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल र भारतबीच स्थलमार्गजस्तै आकाशमार्ग पनि खुला हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले नेपाल र भारतका बीच जमिनजस्तै आकाश किन खुला नहुने भनी प्रश्न गरे ।
‘नेपाल र भारतको सीमा खुला भएको कारणले धरतीबाट खुला अवातजावत छ भने त्यो सीमा भन्दा माथिको आकाश कसरी प्रतिबन्धित हुन्छ ?’ निधिले प्रश्न गरे, ‘जुन देशको बीचमा धरती खुला हुन्छ त्यो देशको बीचमा आकाश के निषेधित हुन्छ र, बन्द हुन्छ र ? खुला हुँदैन र ?’
नेपालले भैरहवा र पोखरा विमानस्थलका लागि सजिलो हुने गरी भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हाइ अल्टिच्युडमा हवाइ रुट माग गरिरहेको छ, तर भारतले दिन अस्वीकार गरेको छ ।
नेता निधिले हवाइ रुटका लागि नेपालले गम्भीर भएर भारतलाई विश्वासमा लिनुपर्ने पनि बताए । ‘जसरी रक्सौलको, वीरगञ्जको, जनकपुरको, विराटनगरको, काकडभिट्टाको सीमाबाट आवातजावत खुला छ । हामीले बन्द गरेका छैनौं’, ‘आकाशका लागि (हवाइ रुटका लागि) पनि सेक्युरिटी राख्दा भयो, तर बन्द गर्नुभएन । यो कुरा हामीले भारतलाई किन कन्भिन्स गर्न सकिरहेका छैनौं । के अप्ठ्यारो पर्यो हामीलाई ?’ उनले प्रश्न गरे ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो कोणबाट छलफल भयो कि भएन भन्ने उनले प्रश्न गरे । नेता निधिले जनकपुरबाट भारतको अयोध्यासम्म सिधा हवाइ उडान सुरु गर्ने विषयमा के काम भइरहेको छ भन्ने प्रश्न पनि गरे । जनकपुर विमानस्थलका कर्मचारीले जनकपुर अयोध्या हवाइ यात्राबारे के काम भइरहेको छ भनेर सोध्दा आफू नाजवाफ हुने गरेको निधिले बताए ।
सरकारले भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरबाट हवाइ रुट मागेको तर जनकपुरबाट मागेको छ कि छैन भन्ने जिज्ञासा पनि उनले राखे । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गर्न बैठक राखेको थियो । बैठकमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए । तर उनले आफ्नै पार्टीका सांसद निधिले उठाएको प्रश्नको जवाफ दिइरहन आवश्यक ठानेनन् ।