धान दिवस र नेपालीको विवशता – Jaleshwortoday

धान दिवस र नेपालीको विवशता

 १५ असार २०८०, शुक्रबार २१:२५  
Pavan Personal Photo

— पवन कुमार साह

असार १५ गते अर्थात धान दिवस नेपाल भरी विभिन्न कार्यक्रमहरु गरी धान दिवसको रुपमा मनाइएको छ । यसमा विभिन्न राजनैतिककर्मीदेखि किसान तथा युवा युवतीहरु आफ्ना ठाउँहरुमा खेतमा धान रोपेर धान दिवस मनाएका छन् । यस दिन विशेष गरेर च्युरा र दही खाने चलन रहेको छ । मधेसतिर यस दिवसलाई खेतमा गभ लाग्नु पनि भन्ने गरिन्छ । यो दिन बास्तवमा किसानहरुको ज्यादै नै खुशिको दिन हो । किनभने यस दिनदेखि किसानहरु आफ्ना खेतमा धान रोप्ने काम प्रारम्भ गर्दछन् ।
नेपाल कृषि प्रधान देश हो । नेपालमा कृषिलाई प्रथम प्राथमिकतामा राखेर अहिले तीनै तहमा बजेट विनियोजन गरिएको छ । कृषिमा विशेष रुपमा बजेट विनियोजन गर्नुको प्रमुख उद्देश्य नै देशको अर्थतन्त्रमा आवश्यक सुधार ल्याउनु हो । तर प्रायजसो यसको कार्यान्वयन पक्ष ज्यादै नै कमजोर हुने गरेको विगतको प्रमाणले देखाउदछ । यो कार्य चुनौतिपूर्ण पनि हो । किनभने कृषिको क्षेत्र ज्यादै नै व्यापक हो । यस अन्तर्गत खेति,माहुरी पालन,बाख्रा पालन,मत्स्य पालन,बागबानी,फलफुल खेति,तरकारी खेति लगायत विभिन्न कार्यहरु पर्दछन् । यस क्षेत्रको विकासका लागि यससँग सम्बन्धित विभिन्न सरोकारबालाहरु ईमानदार भए पछि नेपालको अर्थतन्त्र मजबुत हुनुको साथै अहिलेको आर्थिक समस्या हटेर जानेथ्यो ।
नेपालीहरु प्रत्येक साल असार १५ गतेलाई धान दिवसको रुपमा अहिले मनाए पनि परम्परागत रुपमा यो चलन ज्यादै नै पुरानो हो । यस दिवसले सम्पूर्ण नेपालीलाई धानलाई रोपेर अन्नको कमीलाई पुरा गर्न तथा अपुग भएकालाई सहयोग गर्न शिक्षा दिन्छ । तर नेपालीहरु जतिसुकै कृषिमा आश्रित भए पनि सरकारले जतिसुकै बजेट विनियोजन गरे पनि नेपालीहरुको आर्थिक रुपले कमजोर रहने विवशता भन्ने फेरिएको छैन । यसको लागि बास्तविक कृषक पहिचान गर्न आवश्यक छ । अहिले सरकारी अनुदान पाउनको लागि नक्कली किसानहरु समेत पावर र पहुँचको भरमा सेवा सुविधा पाएका छन् भने गरिखाने असल किसान भन्ने राज्यको सहयोग र अनुदानबाट बञ्चित रहेको छ । जबसम्म असल तथा बास्तविक किसानले राज्यको अनुदान तथा सुविधाहरु पाउदैन तबसम्म देशको दिगो बिकास हुन सक्दैन । त्यसकारण सरकारले अनुदान तथा सहयोग प्रदान गर्दा बास्तविक किसान पहिचान गरी तिनीहरुलाई चाहिने तालिम तथा आवश्यक सहयोगको लागि पहल गर्न आवश्यक रहेको देखिन्छ । अनि मात्र नेपालीहरुको विवशतामा सुधार हुन सक्दछ ।