जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ असार
समयमा नै खरिद प्रक्रिया नहुँदा एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोपको अभाव भएको छ । स्टक कम भएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई केही समयका लागि आफैंले व्यवस्थापन गर्न पत्राचार गरेको छ ।
कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाइन्छ । चिकित्सकका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ ।
तर स्वास्थ्य सेवा विभागले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई खोप उपलब्ध नगराएको महिनौं भइसक्यो । जसका कारण सरकारले निःशुल्क उपलब्ध गराउने अस्पतालदेखि स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिन उपलब्ध छैन ।
लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३३ वटा स्वास्थ्य संस्थालाई एन्टी रेबिज भ्याक्सिन वितरण गर्दै आएको थियो । तर एक महिनादेखि खोप उपलब्ध गराउन नसकिएको केन्द्रका प्रमुख रोशन चौधरी बताउँछन् ।
‘स्वास्थ्य विभागले नदिएपछि हामीसँग खोप नै छैन । ३३ वटै स्वास्थ्य संस्थामा पनि खोप छैन’ चौधरीले भने, ‘स्वास्थ्य संस्थाबाट कुकुर तथा जनावरले टोक्यो खोप उपलब्ध गराउन माग आउँछ, माथिबाट नआएपछि हामीले कहाँबाट दिने !’
अरू प्रदेशको अवस्था पनि उस्तै छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख निरल अर्याल दुई महिनादेखि सरकारबाट खोप उपलब्ध नभएको बताउँछन् ।
‘अहिले स्वास्थ्य संस्थाको माग अत्यधिक छ । खोप प्रदेश सरकारले आफैंले किनेर वितरण गर्न सक्दैनौं’ अर्यालले भने, ‘प्रदेशभरका नागरिकका लागि केही भाइल सेती अस्पताललाई उपलब्ध छ । कुकुर वा अन्य जनावरले टोकेमा सम्बन्धित चिकित्सकले जोखिम प्रमाणित गरेको अवस्थामा मात्रै दिने गरेका छौं ।’
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पशु चिकित्सक डा.रोशिका श्रेष्ठका अनुसार देशभर करिब तीन लाख हाराहारीमा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान गरिन्छ । नेपालमा रेबिजका कारण वार्षिक १०० जनासम्मले ज्यान गुमाउने गरेको सरकारी विवरण छ ।