दिपेश कुमार शाह
रौंतहट, २२ असार
कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटमा हाल रसायनिक मल अभाव नरहेको बताए पनि स्थानीय तहले भने मागअनुसार मल पाएका छैनन्।
स्थानीय तहको सिफारिस अनुसार कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरले रासायनिक मल वितरण गरेको छ। प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारमा कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने र सोही पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धारण गर्ने गर्छ।
जिल्लाका १८ वटा स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको कृषि सामग्री कम्पनीले जनाएको छ। स्थानीय तहले कोटा निर्धारण गरे पनि मागअनुसारको मल नपाएको विन्दावासीनी सहकारी संस्थाका व्यवस्थापक जनार्दन कोईरालाले बताए।
उनका अनुसार चन्द्रपुर वडा नं. ५ का लागि ३ हजार बोरा युरिया र डिएपी माग गरिएको हो। कृषि सामग्री कम्पनीबाट भने ४ सय ५ बोरा युरिया र २ सय ५० बोरा डिएपी पाएको उनको भनाई छ।
माग गरे अनुसारको रासयानिक मल पाउन नसकेको उनको गुनासो छ। कृषि सामग्री कम्पनी चन्द्रपुरमा १७४ डिलर रहेकामा अनुमानित १५० भन्दा बढीले रासायनिक मल लगिसकेको निमित्त कार्यालय प्रमुख गोपालप्रसाद घिमिरेले बताए।
हालसम्म ७३.१ सय मेट्रिक टन युरिया र ४८.९ सय मेट्रिक टन डिएपी मल बिक्री गरि सकिएको उनले बताए। उनका अनुसार १२०.७५ मेट्रिक टन युरिया र ६६२.०५ डिएपी र ४२ मेट्रिक टन कृषि चुन मौज्दात छ।
कृषि सामग्रीको खरिद मूल्य प्रति बोरा ८०५ रुपैयाँ र डिएपी २२ सय ५५ रुपैयाँ छ भने स्थानीय तहअनुसार बिक्री मूल्य निर्धारण हुने निमित्त कार्यालय प्रमुख घिमिरले जानकारी दिए। जिल्लामा ५३ हजार ५ सय ४६.३८ हेक्टर खेतीयोग्य जमिन रहेको छ।
रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपमेयरको संयोजकत्वमा ३ सदस्य समिति हुन्छ। सो समितिमा प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहेको हुन्छ।
सो समितिले बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँड गर्ने, सुपरिवेक्षण र निरीक्षण र कारवाही गरि खारेजी गर्न सक्ने अधिकार वा जिम्मेवारी दिएको छ।