
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ असार
नेपाल लिग टु र एसीसी प्रिमियर कपमा गरेर प्रदर्शन र लयलाई कायम राख्दै विश्वकप छनोट क्रिकेटमा नस केही अप्रत्यासित नतिजा निकाल्दै सुपर सिक्ससम्म पुग्ने लक्ष्य बनाएर जिम्बाव्वे गएको थियो ।
तर समूह चरणमा अमेरिकासँगको एउटा मात्र खेल जितेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।
१० टिम सहभागी छनोट प्रतियोगिता आठौं भएर नेपाली टोली शुक्रबार बिहान स्वदेश फर्किसकेको छ ।
एक महिना भन्दा बढी समय अफ्रिकामा बिताएर नेपाल फर्केका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले नतिजा आफ्नो पक्षमा नआए पनि यस पटक धेरै कुरा सिक्न पाएको बताए ।
तीन टेष्ट राष्ट्र र तीन एसोसिएट टिमसँग खेलेको नेपालले टेष्ट राष्ट्रलाई हराउन सकेन ।
‘हामीले सोचेजस्तो नतिजा आएन । तर धेरै कुरा सिक्न पायौं । फुल मेम्बरसँग प्रतिस्पर्धा गर्न पायौं । राम्रो प्रतिस्पर्धा भयो । टेष्ट टिमलाई जित्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो गर्नुपर्छ । हाम्रो एक दुई वटा कुरा मिस भयो,’ स्वदेश फर्केपछि कप्तान रोहितले भने, ‘ठूलो सिकाइ भनेको टेष्ट टिमसँग खेल्दा ठूलो गेम भन्दा अगाडि कसरी तयारी गर्ने त्यो अनुभव सेयर भयो । अब हामी त्यो अप्लाई गर्न सक्छौं । हाम्रो लागि सिकाइ पनि धेरै महत्वपूर्ण थियो ।’
टेष्ट राष्ट्रसँग खेल्नुअघि नेपाली टिममा धेरै कौतुहलता थियो । वेष्ट इन्डिज र जिम्बाव्वेका बलरहले कस्तो बलिङ गर्लान् भन्ने चासो थियो ।
तर उनीहरुको बलिङ फेस गर्दा र उनीहरुलाई बलिङ गर्दा खासै फरक नभएको कप्तान रोहितले बताए ।
‘टेष्ट राष्ट्रसँग खेल्दा सबैमा उत्साह थियो । वेष्ट इन्डिज र जिम्बाव्वका बलरले कस्तो बलिङ गर्छ भनेर उत्साह थियो । त्यस्तो धेरै फरक भएन तर उनीहरुसँग धेरै अनुभव थियो’, रोहितले भने ।
नेपालले यसअघि हराइसकेका स्कटल्याण्ड र नेदरल्याण्ड्सले यस पटक विश्वकप छनोटमा सनसनी प्रदर्शन गरे । नेदरल्याण्ड्स त १० टिम सहभागी विश्वकप खेल्ने एक्लो एसोसिएट राष्ट्र समेत बन्यो ।
नेदरल्याण्ड्सले वेष्ट इन्डिजलाई हरायो । वेष्ट इन्डिज, जिम्बाव्वे र आयरल्याण्डलाई हराए पनि स्कटल्याण्ड रन रेटमा नेदरल्याण्ड्स भन्दा पछि पर्दै विश्वकपमा पुग्न सकेन ।
स्कटल्याण्ड र नेदरल्याण्ड्सको प्रदर्शनबाट भने नेपाल लगायत अन्य एसोसिएट राष्ट्र मोटिभेट भएका छन् । कप्तान रोहितले नेपालले पनि त्यो लेभलमा खेल्न सक्छ भन्ने उदाहरण यी दुई टिमबाट लिन सक्ने बताए ।
‘स्कटल्याण्ड र नेदरल्याण्ड्सले राम्रो क्रिकेट खेले । हामी त्यही पोजिसनमा छौं र हामीले पनि राम्रो खेल्यौं भने फुल मेम्बरलाई जित्न सक्छौं भन्ने मोटिभेसन भएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारिसत रोहितले भने, ‘एसोसिएटले टेष्ट टिमलाई जित्दा एकदमै खुशी छौं। हामीले स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई जितिसकेका छौँ । त्यसले गर्दा पनि हामीलाई आशा जागेको छ र अर्को पटक हामी पनि राम्रो गर्न सक्छौँ भन्ने विश्वास बढेको छ ।’
सातौं स्थानको लागि भएको आफ्नो अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई कडा चुनौती दिँदै जित नजिक समेत पुगेको थियो । नेपाल सामु टेष्ट राष्ट्रलाई पहिलो पटक हराउने अवसर थियो । तर नेपालले केही गल्ती गर्दा जितबाट बन्चित भएको रोहितले स्वीकारे ।
‘अरु गेम भन्दा पनि आयरल्याण्डको खेल क्रुसियल थियो । अलि सचेत भएर क्याचहरु नसमातेका कारण हामी पछाडी पर्यौं । आउने गेममा हामीले त्यहाँबाट सिकेर राम्रो गर्नुपर्छ ।’
रोहितले फिल्डिङमा दबाब भन्दा पनि उत्साह धेरै भएकोले धेरै सोचेर पनि गल्ती भएको हुन सक्ने बताए ।
‘समग्रमा अन्तिम खेलमा राम्रो गरेको थियो । आउने गेममा त्यही अनुसार तयारी गर्छौं ।’