मालपोत र नापीको सेवा कार्यालय माग गर्दै महोत्तरीको रामगोपालपुरमा प्रदर्शन गरिएको छ ।
जिल्लाको पायक पर्ने स्थान रामगोपालपुरमा सेवा कार्यालय दिनुपर्ने मागसहित स्थानीयले बजार र सडक बन्द गर्दै आन्दोलन सुरु गरेका हुन् ।
जलेश्वरमा रहेको मालपोत र नापीको सेवा कार्यालय गौशालामा स्थापना गर्ने भनी २ वर्ष पहिले सरकारले निर्णय गरेको थियो ।
२०७८ चैत २२ गते नेपाल सरकारले गौशालामा सेवा कार्यालय स्थापना गर्ने भनी गरेको निर्णय अव्यवहारिक र अपरिपक्क भएको र जिल्लाको पायक स्थानमा सेवा कार्यालय स्थापना गर्नुपर्ने रामगोपालपुर नगरपालिकाका मेयर राम दुलार साहले बताए ।
गौशालामा कार्यालय स्थापना हुँदा जिल्लाको मनराशिसवा, रामगोपालपुर, लोहारपट्टि, औरही, सोनामा र सम्सी पालिकाका स्थानीयलाई सेवा लिन अपायक पर्ने मेयर साहको भनाई छ ।
विरोधस्वरुप आइतबार ४ घण्टा बजार र सडक बन्द गराएको आन्दोलन समितिका संयोजक वैधनाथ साहले जानकारी दिए ।
मेयर साहसहितको नेतृत्वमा भएको आन्दोलनले गौशालामा सेवा कार्यालय स्थापना गर्ने निर्णय बदर गराई रामगोपालपुरमै कार्यालय स्थापना गर्न कडा आन्दोलन गर्ने आन्दोलन समितिले बताएको छ ।