यू-१६ युथ लिग सुरुमै अन्योल – Jaleshwortoday

यू-१६ युथ लिग सुरुमै अन्योल

 ७ श्रावण २०८०, आईतवार २१:५४  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ७ श्रावण

अखिल नेपाल फुटबल संघ एन्फाले युवा अवस्थाबाटै फुटबलको विकास गर्न एन्फा यू-६ युथ लिग सुरु गरेको थियो ।  १० क्लबको सहभागिता रहेको यस लिग दोस्रो चरणमै अन्योलग्रस्त बन्न पुगेको छ । दोस्रो चरण अन्तर्गत शनिबार तय भएका चारमध्ये तीन खेल भएनन् ।

ए डिभिजन लिगका तीन क्लब एनआरटी, मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबले शनिबार तय भएको लिगको खेल बहिष्कार गर्दै सहभागिता जनाएनन्।

युथ लिगको प्रतियोगिता नियमावलीको विषयलाई लिएर एन्फा र क्लबबीच एक मत नहुँदा यू-१६ युथ लिगको पहिलो गाँसमै ढुंगा भनेजस्तो भएको छ ।

शनिबार दिउँसो १ बजे च्यासल स्टेडियममा मनाङ र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुने तालिका थियो ।

तर मछिन्द्रले मैदान पुगेर वार्म अफ गर्दै खेलको लागि तयारी अवस्थामा रहँदा मनाङ भने उपस्थित नै भएन । खेलको सुरु हुने समयमा मछिन्द्रका खेलाडी लाइन लाग्दा पनि मनाङ नआएपछि मछिन्द्रलाई स्वत: विजेता घोषित गरियो ।

यस्तै भक्तपुर सल्लाघारीस्थित मैदानम त्रिभुवन आर्मी एफसी र फ्रेण्ड्स क्लबबीच दिउँसो १ बजे तथा च्यासलमै एफसी खुमलटार र एनआरटीबीच खेल हुने तय थियो ।

तर फ्रेण्ड्स र एनआरटी सहभागी नभएपछि दुवै खेल भएन र आर्मी र खुमलटारलाई स्वत: विजेता घोषणा गरियो ।

एनआरटीले भने शनिबार बिहानै विज्ञप्ती जारी गर्दै एन्फामा गरेको अपिलको सुनुवाइ नभएको भन्दै लिगमा सहभागि नहुने चेतावनी नै दिएको थियो ।