जलेश्वरटुडे समाचारदाता
जलेश्वर, ८ श्रावण
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित पौराणिक तथा ऐतिहासिक मन्दिर जलेश्वरनाथमा श्रद्धालु भक्तजनहरुको बाक्लो भिड देखिएको छ ।
खास गरेर सोमबारीको दिन महिला तथा युवतिहरु हरियो रंगको साडी तथा कुर्ता सुरुवालमा र पुरुषहरु भगवा रंगको लुगामा मन्दिर भरी बाबा जलेश्वरनाथलाई
बेलपत्र,फुल,माला चढाउन तथा पुजाआजा गर्न एका बिहानैदेखि मन्दिर परिसरमा भिडभाड देखिएको थियो ।
जलेश्वरनाथ मन्दिर भारतको सिमा नजिक रहेका कारण यस जिल्लाको श्रद्धालु भक्तजनको सँगसँगै भारतीय भक्तजनहरु समेत बाबा जलेश्वरनाथको दर्शन तथा पुजाआजा गर्न आउने गर्दछन् । जलेश्वरनाथ महादेव मन्दिर जलेश्वर
नगरपालिका भित्र पर्ने भएकोले महाशिवरात्रीमा पालिका तथा अन्य
संघसंस्थाहरुको सहभागिता उल्लेख रहे पनि साउन महिनामा सोमबारी अर्थात बाबा शिवको विशेष पुजाआजा करिव ४ पटक मनाइए पनि यहाँको जलेश्वर
नगरपालिका र अन्य संघसंस्थाहरुको सहभागिता देखिदैन । सोमबारी महिला तथा पुरुष सबैको मनप्र्रिय तथा आस्थाको पर्व रहेकोले जलेश्वर नगरपालिका तथा अन्य संघसंस्थाले देखाएको चुुप्पीले जनआस्थामा ठूलो आघात पुर्याएको सुगा भवानीपट्टीबासी राजिन्दर मण्डलले बताए ।
अहिले पनि २ वटा सोमबारी बाँकी रहेकोले नगरप्र्रमुख सुरेश साह सोनारले अविलम्ब छलफल गरी सोमबारीमा समेत बाबा जलेश्वरनाथको साजसज्जादेखि
रंगीचंगी तथा आकर्षक वातावरण बनाउन सबै पक्षबाट सहयोग लिई पालिकाको कोषबाट समेत सहयोग गराई बाबा जलेश्वरनाथको गरिमालाई प्रचारप्रसार गर्न गराउनमा पछि नपर्न नेपाल सद्भावना पार्टीको महोत्तरी जिल्ला अध्यक्ष पवन कुमार साहले सल्लाह दिएका छन् ।
जसरी संसारीमाईको पुजामा जलेश्वरलाई सजाइएको र प्रचारप्रसार गरिएको थियो त्यसैगरी सोमबारी पर्वलाई समेत अवसरको रुपमा लिएर पर्यटकीय तथा धार्मिक नगरीको रुपमा चिनाउनमा अग्रसर हुन राजनीतिक विशेषज्ञ सि.के.लाल,अनुसन्धान तथा खोजको क्षेत्रमा निरन्तर प्रयासरत वरिष्ठ पत्रकार राकेश प्रसाद चौधरी,जलेश्वरटुडे दैनिकको प्रकाशक तथा सम्पादक पवन कुमार साह लगायतका बुद्धिजिवी तथा समाजसेवीहरुले पटक—पटक सुझाएका छन् । तर नगरपालिकाले यसको बेवास्ता गरी अन्य धार्मिक ठाउँहरुको भ्रमणमा व्यस्त हुनु अस्वभाविक तथा अव्यवहारिक रहेको स्थानियबासीहरुको आरोप रहेका छन् ।
साथै जलेश्वरनाथ मन्दिर भित्रको पूर्वी तथा उत्तरी मुखमा नै विभिन्न व्यापारीहरुले आफना पसल थापेर भक्तजनहरुले सजिलैसँग मन्दिरको
चारैतिरबाट परिक्रमा गर्ने ठाउँहरु अतिक्रमण भएकोले त्यसको व्यवस्थापन तथा ती व्यापारीहरुलाई मन्दिरको पश्चिमि भागमा व्यवस्थापन गर्दा सबैलाई राम्रो हुने
वा अन्य ठोस विकल्पको समेत खोजि गर्न जलेश्वरनाथ मन्दिर व्यवस्थापन समितिलाई प्रकाशक तथा सम्पादक साहले सल्लाह दिनु भएको छ ।
प्रकाशक तथा सम्पादक साहले मन्दिर व्यवस्थापन समितिको समेत सोमबारी पर्व प्रति खासै आकर्षण नरहेको बताएका छन् । जलेश्वरनाथ मन्दिर परिसरमा भिड नियन्त्रण गर्ने स्वयंसेवक,जलेश्वरनाथको गाथा सुनाइदिने गाइड,पुजाआजामा सहयोग गर्ने पुजारी तथा टीका लगाईदिने बाबाको समेत कमी देखिएको थियो ।
जलेश्वरनाथ महादेवको ईतिहास
कुनै व्यक्तिले नभई स्वयम् अनादी शक्ति स्वयम्भूका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिह्न अङ्कित यस लिङ्गमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ त्यसैले विभिन्न धार्मिक ग्रन्थमा श्लोक लेखिएको छ छु जलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयमू ।
जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजा सहित बीचमा केही उठेको भाग छ ।
मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथ अर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ । अति प्राचीन श्री जलेश्वरनाथ महादेवको सु सञ्चालनको लागि विसं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो । हाल भने मन्दिर बाहेकको कुनै सम्पत्ति मन्दिरसँग नभएको गुठी संस्थान महोत्तरी जलेश्वरका असुली सहायक जयकुमार शर्मा बताउनुहुन्छ । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य छ । पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको
पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हात खट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर (महादेवलाई भोगराजको लागि मखानको पोखरी), महन्थ पोखरी (पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहे पनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ । मन्दिर सञ्चालन, पुजारी तथा भान्से तथा वर्षभरि हुने सबै पूजापाठको लागि गुठी संस्थानले वार्षिक जम्मा रु ५८ हजार ६०० रकम मात्र सहयोग गर्दै आएको छ । मन्दिरलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचीमै पार्न सकिने भए पनि सरोकारवाला निकाय र स्थानीयले समेत चासो दिन नसकेको आरोप छ । जलेश्वर नगरपालिकाले मन्दिरको पोखरी, परिसर र छेउछाउमा फोहर गर्नेलाई नियन्त्रित गर्न सकेको छैन भने थुपारिएको फोहरलाई समेत व्यवस्थित गर्न अटेर गर्दा समस्या थपिँदै गएको फोटो पत्रकारिता गरिसकेका समाजसेवी विश्वनाथ साहको भनाइ छ । त्यस्तै जिल्ला विकास समिति, गुठी संस्थान तथा स्थानीयले समेत मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न ठोस कदम उठाउन सकेका छैनन् । मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित रहेको छ । मन्दिरबारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएकोमा नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर शिवलिङ्गको दर्शन गर्न थालिएको छ । केही वर्षदेखि सशस्त्र प्रहरीले समेत नेपाली सेनासँगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिँदै आइएको छ भने महाशिवरात्रिको दिन दुईदेखि तीन लाख दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ । केही शिवभक्तले गुफाभित्र प्रवेश गरी शिवलिङ्ग दर्शन गर्न जाँदा जलमा खुट्टा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफाभित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छन् ।