धर्मेन्द्र झा
धनुषा, ९ श्रावण
जनकपुरधामको जानकी आँखा अस्पतालमा नयाँ प्रविधिको प्रयोगबाट आँखाको उपचार गर्न सुरु गरिएको छ । तराई मधेशमा पुन: केही दिनदेखि गर्मी बढेपछि दैनिक छ सयको अनुपातमा आँखाका बिरामीहरु अस्पतालमा आउने गरेको जानकी आँखा अस्पतालका निर्देशक डा. आशिष बोहराले जानकारी दिनुभयो ।
अस्पतालबाट आँखाको उपचार सम्बन्धमा विशिष्टीकृत सेवाहरु सञ्चालन भएपछि आँखाको उपचार गराउन आउने बिरामीको सङ्ख्या बिस्तारै बढेको उहाँले बताउनुभयो । उहाँले आँखामा जलबिन्दु भएका बिरामीलाई आँखाको प्रेसर नाप्न प्रयाेग गर्दै आएको पुरानो प्रविधिलाई विस्थापित गरी आँखा नछोइकन आँखाको प्रेसर नाप्ने उपकरणको जडान गरिएको जानकारी दिनुभयो ।
अस्पतालका अध्यक्ष नरेशप्रसाद सिंहको आँखाको प्रेसर जाँचेर सेवाको एक कार्यक्रमबीच सुरुवात गरिएको उहाँले बताउनुभयो । उहाँले सोमबारदेखि आँखाको जलबिन्दु भएका बिरामीलाई जडान गरिएको नयाँ प्रविधिको माध्यमले आँखाको प्रेसर जाँच भइरहेको जानकारी गराउनुभयो । जानकी आँखा अस्पतालका निर्देशक बोहराले एनसिटी (नन कन्ट्रयाक्ट टोनोमिटर) उपकरणको जडान भएपछि एक दिनमा दुई सय जनाको आँखाको प्रेसर चेक गर्न सकिने भन्दै यसको जडान भएपछि आँखाको शल्यक्रिया गर्नुअघि आँखाको प्रेसर जाँच गर्न पनि सहजता भएको बताउनुभयो ।
विगतमा पुरानो प्रविधिकोमार्फत आँखा छोएर आँखाको प्रेसर जाँच गर्दा आँखामा चोटपटक लाग्नसक्ने जोखिम पनि उत्तिकै रहेको र एक दिनमा बढीमा ८० जनाको प्रेसर जाँच्न सकिने अवस्था मात्रै भएकोले त्यसलाई विस्थापित गरिएको उहाँको भनाइ छ। जानकी आँखा अस्पतालमा १० लाख मूल्य पर्ने एनसिटी खरिद गर्नका लागि अस्पतालले ५० प्रतिशत र समाजिक उतरदायित्वलाई निर्वाह गर्दै बाँकी ५० प्रतिशत रकम एभरेष्ट बैंक जनकपुरधाम शाखाले सहयोग गरेको निर्देशक डा. बोहराले जानकारी दिनुभयो । उहाँले अस्पतालमा आँखाको जाँच गराउन आउने बिरामीहरुमध्ये प्रतिदिन अनुपातमा ५० जना जती आँखा पाक्ने रोगबाट पीडित भएर आउने गरेको उल्लेख गर्नुभयो ।
यस्तै, अहिले गर्मी बढी भएकोले घाममा अनावश्यक ननिस्कनका लागि सर्वसाधारणलाई आग्रह गर्दै निस्कनैपरेमा छाताको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
निर्देशक डा. बोहराले आँखा पाकेको रोग सरुवा रोग भएकोले जथाभावी हातले नछुने, रोग लागेका बिरामीको सम्पर्कभन्दा टाढै बस्ने जस्ता सतर्कता अपनाउनुपर्ने सल्लाह दिनुभयो । उहाँले आँखा पाकेको खण्डमा चिसो पानीले आँखा धुने र आइसले आँखालाई सेक्ने किसिमले घरेलु उपचार गर्ने त्यसबाट ठिक नभएमा चिकित्सकसँग जाँच गराउन सल्लाह दिनुभयो ।