राकेशप्रसाद चौधरी
महोत्तरी, २९ श्रावण
जलेश्वरको शहरी क्षेत्रमा जडान गरिएका धाराबाट पर्याप्त पानी नआउँदा उपभोक्ता समस्यामा छन्।
केहीदिनदेखि बर्षा भइरहँदा समेत चापाकलमा पर्याप्त पानी आउन सकेको छैन्। पर्याप्त बर्षापछि खानेपानीको समस्या हुने विश्वास गरिएपनि सुख्खा भएको चापाकलबाट पानी आउन सकेको छैन्।
नेपाल खानेपानी संस्थानले जडान गरेको धारामा पर्याप्त पानी नआउँदा समस्या भएकोले रिंकु साहले बताइन्। नेपाल खानेपानी संस्थान कार्यालयले गत जेठमा सम्पन्न भएको संसारीमाई महापुजा अगाबै समस्या समाधान गर्ने योजना बनाएको थियो। जलेश्वर शाखाका प्रमुख काशिन्द्र यादव भन्छन्,‘धबौलीमा निर्मित पानी ट्याङ्की संचालनमा आएमा जलेश्वरको शहरी क्षेत्रमा जडान भएको सबै धारामा पर्याप्त पानी आउँछ। जलेको ट्रान्सफर्मर मर्मत गर्ने कार्यसँगै दशवटा पानी जडान कार्य सम्पन्न गर्ने योजना छौं।’
सडकसम्बन्धी विवादको कारण पाइप जडान गर्न नसकेको दाबी गलत रहेको जानकारी दिँदै जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार भन्छन्,‘नगरपालिकाको कारण कुनै अवरोध छैन। हामीले सहयोग गर्दा समेत धबौलीको ट्याङ्कीबाट पानी वितरण नहुनु दुखद हो। उपभोक्ताको अनुपतामा बैकल्पिक ट्याङ्कीको प्रयोग र नयाँ निर्माण नभएसम्म समस्या यथावत रहने महादेव दास बताउँछन्। दास भन्छन्,‘अहिले त मुख्य सडकको वरिपरी रहेकाले मात्र धारा जडान गर्न पाएका छन्। मुख्य सडक जोड्ने सहायक सडकमा पाइप नै जडान नगरिएकोले हामी धाराको पानीबाट बंचित छौं।’
जलेश्वरका बासिन्दाको सुविधाका लागि २०४८ सालमा ४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको थियो। अहिले उपभोक्ताको संख्या १ हजार २ सय ५० छ। कार्यालय प्रमुख यादव भन्छन्,‘जलेश्वरकै टाउन प्लानिंगको एक ठाउँमा बोरिङ्गको लागि पानी पनि जाँच भएको छ। बिकल्पमा अर्को ट्याङ्की बनाउने योजना रहेपनि अहिले टुंगो लागेको छैन।’