कक्षा १२ को नतिजामा आधा विद्यार्थी फेल पाइयो – Jaleshwortoday

कक्षा १२ को नतिजामा आधा विद्यार्थी फेल पाइयो

 ३० श्रावण २०८०, मंगलवार २२:४१  
ww

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३० श्रावण

मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२/०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ ।

गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार परीक्षा भएको ८० दिनपछि नतिजा सार्वजनिक हुँदा ५०.९१ प्रतिशत उतीर्ण भएका छन् । ‘विगत वर्ष भन्दा केही इम्प्रुभ भएको मानेका छौं’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने । यो वर्ष एक लाख ८२ हजार ९२६ (४९.०९ प्रतिशत) एनजी ल्याएका छन्, जुन गत वर्ष १ लाख ८८ हजार ४१० जना रहेका थिए ।

त्यसकारण गत वर्षको तुलनामा सुधार भएको बोर्डले दाबी गरे पनि उच्च शिक्षा पढ्न नपाउनेको संख्या ठूलो देखिएको छ । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला नतिजामा सुधार भन्न नमिल्ने बताउँछन् । ‘किनभने परीक्षार्थीमध्येको आधा प्रतिशतले त उच्च शिक्षा पढ्नै नपाउने भएका छन । त्यसैले सुधार भन्दा पनि सुधार उन्मुख भएको भन्न सकिन्छ’, उनले भने ।

बालबालिकाको पढ्ने शैली र शिक्षकको पढाउने शैली नमिल्दा नतिजामा सुधार ल्याउन नसकिएको उनको बुझाइ छ

कक्षा १२ को नतिजाले विद्यालय तहको सिकाइ स्तर अत्यन्त चिन्ताजनक देखाएको पूर्वशिक्षामन्त्री शिशिर खनाल बताउँछन् । उनी भन्छन् ‘परीक्षार्थीमध्ये लगभग आधा विद्यार्थी माथिल्लो तह पढ्न नपाउने हुनु भनेको त अत्यन्तै गम्भीर चिन्ताको विषय हो ।’

उत्तीर्ण भएकाहरु पनि कतिपयले थोरै नम्बर ल्याएको हुन सक्ने भन्दै उनले यकिन तथ्यांक सार्वजनिक गरेर सुधारको काम थाल्नुपर्ने बताए । ‘नतिजा हेरेर पास भएका मध्ये ५० प्रतिशत पनि सिकाई नहुनेहरु कत्ति होलान् भनेको पास त भए तर उनीहरुको सिकाईको स्तर त उन्नत पक्कै भएन’, उनले भने ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का अनुसार यो वर्ष सबै भन्दा धेरै १ लाख ९ हजार ५२७ जनाको अंग्रेजी विषयमा ननग्रेड आएको छ । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा भन्छन्, ‘मुख्य कक्षा कोठाको पठनपाठनसँग विद्यार्थीको नतिजा जोडिएको हुन्छ त्यसैले हाम्रो बुझाइ अनुसार शिक्षण सिकाई प्रभावकारी भएन ।’

बोर्डले २ विषयसम्म ननग्रेड हुनेका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दैछ । त्यसमा १ लाख २३ हजार ३ सय ९६ जना सहभागी हुन पाउनेछन् । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसा एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेको छ ।