नागको पूजा आराधना गरी नागपञ्चमी पर्व मनाइयो – Jaleshwortoday

नागको पूजा आराधना गरी नागपञ्चमी पर्व मनाइयो

 ४ भाद्र २०८०, सोमबार २०:५३  
gg

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ४ भाद्र

नागपञ्चमी पर्व सोमबार धार्मिक परम्परा अनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइएको छ भने विभिन्न ठाउँहरुमा नागको प्रतिमा बनाएर समेत पुजाआजा गरिएको छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यस अवसरमा महोत्तरीको परिकौली,जलेश्वर,मटिहानी,धनुषाको जनकपुरधाम लगायत नेपालभरी तथा छिमेकी मुलुक भारतमा समेत नाग पञ्चमी मनाइएको छ ।

यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने मान्यता रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

बराहपुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि यस दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई यस दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन भन्ने मान्यता छ । धेरै ठाउँमा राति सबैजना खाना खाई सकेपछि सुत्नु पूर्व बाहुनबाट मन्त्र सिद्ध गरिएको धानको लाबा र माटो मिश्रित रुपमा घरमा छर्कने परम्परा रहेको छ । राति नाग देवता आएर खाने मान्यता रहेको छ ।