शान्ति व्यवस्था कायम होस् – Jaleshwortoday

शान्ति व्यवस्था कायम होस्

 ६ भाद्र २०८०, बुधबार २१:०८  
Pavan Personal Photo

— प्रा.पवन कुमार साह

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको अवस्था तनावग्रस्त रहँदा त्यहाँको जनजिवन प्रभावित भएको छ । मंगलबार जलेश्वरको एक व्यवसायी र मिटरव्याज पिडीत वीच मोटरसाइकल सम्बन्धी सामान्य झगडा हुँदा त्यहाँ विवाद भई बुधबार समेत उद्योग वाणिज्य संघ जलेश्वर महोत्तरीको अध्यक्ष लभराजा सिंहले सम्पूर्ण पसल,बजार तथा नीजि शैक्षिक संस्थाहरु बन्द गराएका थिए । व्यवसायी राकेश साहलाई प्र्रहरीले नियन्त्रणमा लिई धेरै दबाब पछि छाडेको भन्दै अध्यक्ष सिंहले दोषिलाई कारवाहीको माँग गरेका थिए । यता मिटर व्याज पिडीतहरुले सरकारले ल्याएको ऐनमा संशोधनको माँग गर्दै मंगलबार जलेश्वरमा सडकमा उत्रेको र ५ बँुदे माँग उल्लेखित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुझाउन बाक्लो सहभागिता सहित धर्नामा बसेका थिए ।
अव यी दुईटै परिवेशलाई नियाल्दा कहाँ कुरा ठोक्किन्छ भने त्यो हो सुरक्षा व्यवस्था । मिटरव्याज पिडीतले शान्तिपूर्ण तरिकाले आफ्नो धर्ना लगायतका कार्यक्रम गर्न पाउने उसको अधिकार हो भने सामान्य जनता तथा व्यवसायीलाई आपतकालिन सुरक्षा दिने काम प्रहरी प्रशासनको हो । महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुबै पक्षलाई वार्ताको माध्यमबाट सहमतिमा ल्याई समाधान गर्न गराउन आवश्यक रहेको देखिन्छ । किनभने जलेश्वर बन्दले विद्यार्थीहरुदेखि सबै समुदायका व्यक्तिहरु तथा संघसंस्थाहरु प्रभावित हुुने भएकोले यसको निकास अविलम्ब खोज्न तथा कार्यान्वयन गर्न गराउन सकारात्मक हुन आवश्यक रहेको देखिन्छ । यो समस्या कुनै ठूलो समस्या थिएन । सामान्य रुपले धर्ना स्थल भएर मोटरसाइकलले बाटो काट्दा वा जान खोज्दा त्यहाँ उपस्थित प्रहरी प्रशासनले दुबै पक्षलाई सहज रुपमा समाधान दिएको भए यो उग्र रुप लिने थिएन र यसरी आर्थिक,शैक्षिक तथा समाजिक रुपमा क्षति व्योहोर्नु पर्ने थिएन । तर कहिले काहि
संयोगको कारणले समेत नचिताएको घट्ना समेत घट्छ । उद्योग वाणिज्य महासंघ जलेश्वरले समेत संयमताको साथ साकारात्मक भई वार्ताको माध्यमबाट आएको सामाधनको स्वागत गर्दै बजार खुलाउने वातावरण बनाई दिन आवश्यक रहेको देखिन्छ । देश अहिले आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा आर्थिक गतिविधि बन्द हुनु सबैको लागि झन चिन्ताको विषय बन्न सक्छ । मिटर व्याज पिडीतहरुले समेत धर्ना लगायतका कार्यक्रमहरु गर्दा सभ्य भई मानवीय आवश्यकता तथा मानवीय अधिकारलाई रक्षा तथा सम्मान गर्न सक्नुपर्छ ।
अन्त्यमा हामी सबै मानव हौ । मानव धर्मलाई आत्मसात गरी गल्तीलाई स्वीकार गरी शान्ति व्यवस्था कायम गर्नुमा नै सबै कल्याण हुने देखिन्छ ।