
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० भाद्र
श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदै छन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ।
श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा विभिन्न ठाउँहरु झै पाटनको मङ्गलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि ठूलो मेला लाग्दछ।
यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ।
राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।
यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ।
यस पर्वका अवसरमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिएका थिए । तर मधेस प्रदेशको राजधानी जनकपुरधाम लगायत यस छेउछाउका गाउँहरुमा यो पर्व ३ देखि ४ दिनसम्म पनि मनाइने गरिन्छ ।
महोत्तरीको जलेश्वर नगरपालिका अन्तर्गत सुगा भवानीपट्टीमा यस गाउँबासीले ७५औं वर्षको उपलक्ष्यमा हिरक दिवस समेत मनाउदै विभिन्न कार्यक्रमहरु समेतको आयोजना गरेका छन् । त्यहाँ माटोको राधाकृष्ण मूर्तिको प्रतिस्थापन गरी मन्दिर समेत बनाई पत्थरको राधाकृष्ण भगवानको प्रतिमाको प्राण प्रतिष्ठा गरेको आयोजकले जानकारी गराएका छन् । त्यसैगरी भगवान श्री कृष्ण र राधाको प्रति आस्था राख्ने विभिन्न धर्माबलम्बीहरुले समेत वहाँको जन्मोत्सवलाई हर्षाेल्लासको साथ मनाएका छन् ।