थाइल्याण्ड विरुद्ध उत्कृष्ट क्रिकेट खेलेर ग्लोबल क्वालिफायर्स पुग्ने नेपालको लक्ष्य – Jaleshwortoday

थाइल्याण्ड विरुद्ध उत्कृष्ट क्रिकेट खेलेर ग्लोबल क्वालिफायर्स पुग्ने नेपालको लक्ष्य

 २१ भाद्र २०८०, बिहीबार २०:४८  
bb

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ भाद्र

पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यमा रहेको नेपालले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालका लागि यो खेलको ठूलो महत्व छ किन भने यो खेल जितेमा नेपाल आफ्नो लक्ष्यमा पुग्ने छ ।

महिला टी-२० विश्वकपको एसिया छनोट खेल्न मलेसिया जानुअघि नेपाली टिमका प्रशिक्षक सामसंग थापा र कप्तान रुबिना क्षेत्रीले पनि नेपालको एक मात्र लक्ष्य ग्लोबल क्वालिफायर्स पुग्ने रहेको बताएका थिए ।

विश्वकपको ग्लोबल क्वालिफायर यस्तो प्लेटफर्म हो जहाँ नेपालले अन्य धेरै टिमसँग अझ धेरै खेल खेल्ने अवसर पाउनेछ । त्यहाँ राम्रो प्रदर्शन गरे विश्वकपमा समेत पुग्ने सम्भावनासमेत हुनेछ ।

थाइल्याण्डसँग पराजित भएमा नेपालको विश्वकपको यात्रामा फेरि एसिया छनोटमै सकिनेछ । नेपालको महिला टोलीले अहिलेसम्म विश्वकप खेलेको छैन ।

तर दुई पटक एसिया कपमा सहभागी भएको नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता टिमहरुसँग खेलिसकेको छ ।

नेपाली टिमका कप्तान रुबिना क्षेत्री र प्रशिक्षक सामसन जंग थापाले थाइल्याण्ड विरुद्धको सेमिफाइनल खेल महत्वपूर्ण भएको र गल्ती नगरी खेल्नुपर्ने बताएका छन् ।

‘हाम्रो लागि भोलिको दिन महत्वपूर्ण दिन हो । हामीले जति प्रेसर लिन्छौं त्यति खेल्न सक्दैनौं । त्यसैले निडर भएर खेल्ने रणनीति छ,’ रुबिनाले मलेसियाबाट अनलाइनखबरसँग भनिन्, ‘भोलि हामी बेष्ट क्रिकेट खेल्ने तयारीमा छौं । हामीले गुमाउनु केही छैन । उनीहरुलाई प्रेसरमा राखेर खेलौं भन्ने छ । धेरै सोचेका छौं । निडर क्रिकेट खेल्ने तयारीमा छौं ।’

प्रशिक्षक सामसन जंग थापाले थाइल्याण्ड विरुद्ध कुनै गल्ती नगरी आफ्नो खेल खेल्ने बताए । थाइल्यान्ड विश्व वरियतामा नवौं स्थानको टिम हो भने नेपाल २१औं स्थानमा छ ।

‘हामी भोलि एकदमै प्रतिस्पर्धी खेल खेल्नेछौं । आफ्नो खेल खेल्न चाहन्छौं । भोलि हामी हाम्रो कुनै पनि गल्ती नगरी खेल्ने चाहना राखेका छौं । हामी ब्याटिङ, बलिङ र फिल्डिङ तिनै पक्षमा राम्रो गरि उत्कृष्ट क्रिकेट खेल्नेछौं’, मलेसियाबाटै थापाले अनलाइनखबरसँग भने, ‘मानसिक रुपमा हामीले खेलाडीलाई त्यसरी नै तयार गरेका छौं ।’

नेपाले समूह विजेता बनेर सेमिफाइनलमा हङकङसँग खेल्ने योजना बनाएको थियो । थाइल्याण्डभन्दा हङकङ नेपालका लागि कमजोर प्रतिद्वन्द्वी थियो । तर समूह चरणको अन्तिम खेल वर्षाका कारण हुन नसकेपछि नेपालले यूएईसँग अंक बाँड्यो र रन रेटका आधारमा यूएई समूह विजेता बन्यो ।

‘हामीले समूह विजेता बनेर सेमिफाइनलमा हङकङसँग नै खेल्ने सोच थियो । तर हामीले सोचेको जस्तो भएन’ कप्तान रुबिनाले भनिन्, ‘दुई वटामा जुन टिम भए पनि खेल्ने नै हो ।’

सेमिफाइनलको दिन शुक्रबार पानी नपरोस् भन्ने कामना रुबिनाले गरिन् । ‘पानी नपरोस् भन्ने कामना छ । पानी हाम्रो लागि निकै नै नराम्रो भइरहेको छ । दुई वर्षसम्म यो कुराले पीडा दिइरहेको छ ।’

पोहोर असारमा एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेता भएका आधारमा यूएई फाइनलमा पुगेको थियो । जितको नजिक पुगेको खेल वर्षाका कारण पूरा नहुँदा नेपालले महिला एसिया कप खेल्ने अवसर गुमाएको थियो ।