बर्दिबासमा गोली चल्यो,३ जना प्रदर्शनकारी गम्भीर घाईते – Jaleshwortoday

बर्दिबासमा गोली चल्यो,३ जना प्रदर्शनकारी गम्भीर घाईते

 १० मंसिर २०७७, बुधबार ००:१८  
Bardibas

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ मंसिर

बर्दिबासमा बालिका बलात्कार गरी हत्या विरुद्ध भइरहेको प्रदर्शनमा प्रहरीले गोलि चलाएको छ । प्रहरीले चलाएको गोलि लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।

बर्दिबासका ३५ वर्षीय संजय न्यौपाने, अफताब आलम र श्याम कार्की गोलि लागेर गम्भीर घाइते भएका छन् । न्यौपानेको तिघ्रमा गोलि लागेको छ । उनलाई बिर्दबासमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । यस्तै श्याम कार्कीलाई ४ गोलि लागेको छ भने अफताल आलमलाई टाउकोमा एक गोलि लागेको स्थानीयले बताएका छन् । दुबैजनाको शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको र थप उपचारको लागि बाहिर रेफर गर्ने तयारी भइरहेको जनाएको छ ।

आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेपछि मंगलबार बिहानैदेखि बर्दिबासमा प्रदर्शन भइरहेको छ ।

स्थानीय २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेर शव बोरामा राखेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बिहानैदेखि आक्रोशित स्थानीयले पक्राउ परेका साहको घरमा आगो लगाएका छन् । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन समेत गरिरहेका छन् ।

मंगलबार दिउँसो बालिकको शव राजमार्गमा राखेर प्रदर्शन गर्न थालेपछि प्रहरीले गोलि चलाएको हो । गोलि चलाएपछि भिड तितर वितर भएको छ । प्रहरीले केहि सेल अश्रुग्यास र हवाइ फायर समेत गरेका छन् ।