लिभर सिरोसिस हुँदा के-के लक्षण देखिन्छन् ? – Jaleshwortoday

लिभर सिरोसिस हुँदा के-के लक्षण देखिन्छन् ?

 २८ भाद्र २०८०, बिहीबार २२:३४  
nn

प्रा. डा. सुवास भट्टराई

कलेजो बिग्रिएर फेल हुने अवस्थालाई लिभर सिरोसिस भनिन्छ । नियमित रक्सी खाने, लामो समयदेखि हेपाटाइटिस बी र सी संक्रमण भएका व्यक्तिमा कलेजो बिग्रिने सम्भावना धेरै हुन्छ ।

मधुमेह,  मोटोपन र कलेजोमा बोसोको मात्रा बिस्तारै बढ्दै जाँदा (फ्याटी लिभर)का कारण हुन सक्छ ।

लिभर सिरोसिसका लक्षण

लिभर सिरोसिस हुँदा जन्डिस हुने, पहेंलो पिसाब आउने, खाना मन नलाग्ने, बान्ता हुने, आलस्य र कमजोरी महसुस हुने, खुट्टा सुनिन्ने र फुल्ने समस्या देखिन्छ ।

यस्तै पेट फुल्ने, पेट ठूलो हुने, छालामा मासु गलेर आउने, पातलो दुब्लो हुने, केटा मान्छेको स्तन बढेर आउने, चोट लाग्दा रगत बगिरहने लक्षण पनि देखिन्छन् ।

यस्ता समस्या देखिएमा अस्पताल गइहाल्नुपर्छ । कलेजो ७०-८० प्रतिशत बिग्रिंदासम्म पनि कति अवस्थामा कलेजोको रोगको कुनै पनि लक्षण वा समस्या नदेखिन पनि सक्छ । जस्तै, नियमित रक्सी सेवन गर्ने र कलेजो बिग्रिंदै गरेको व्यक्तिको केही महिनाअघिसम्म पनि कलेजोको रगतमा गरिने जाँच पनि सामान्य देखिन पनि सक्छ । कसैकसैमा रोगको सुरुवाती चरणमा कमजोरी महसुस हुने, छिट्टै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने, हात-खुट्टा गलेर आउने, खाना खान मन नलाग्ने हुन सक्छ ।

के के जाँच गर्ने ?

लिभर सिरोसिस पत्ता लगाउन रगत, पिसाब जाँच गर्नुपर्छ भने आवश्यकताअनुसार भिडियो एक्सरे, सिटिस्क्यान, इन्डोस्कोपी, फोक्सो स्क्यान, ब्लड प्रेसर र युरिक एसिड पनि जाँच्नुपर्छ ।

सिरोसिस हुँदा के के समस्या आउन सक्छन् ?

लिभर सिरोसिस हुँदा पेटमा पानी जम्ने भएकाले पेट फुलेर आउने र श्वास फेर्न गाह्रो हुने हुन्छ । खुट्टा फुल्ने र सुन्निने, हिंड्न गाह्रो हुने, बान्ता हुँदा मुखबाट रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने, पिसाबमा कमी हुने, बोली लटपटिने, बेलाबेलामा होस गुमाउने समस्या हुन्छ ।  लिभर सिरोसिस बढ्दै गएमा कलेजोको क्यान्सरसमेत हुन सक्छ ।

उपचार

लिभर सिरोसिसको औषधिबाटै पूर्ण उपचार नहुन सक्छ । यसको लागि प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ । तर यसो भन्दैमा औषधि उपचार गर्नै नमिल्ने होइन । समस्या बढ्न नदिन, कलेजो थप बिग्रिन नदिन औषधिहरु प्रयोग गर्न सकिन्छ । समय-समयमा पेट तथा कलेजोरोग विशेषज्ञलाई जाँच गराई आवश्यक परामर्श लिनुपर्छ ।

के खाने के नखाने ?

लिभर सिरोसिस भएका व्यक्तिले ग्लुकोज पानी, फलफूल, हलका खानेकुरा र सागपात खान हुन्छ । तर फ्राइ गरेको, तेलमा तारेको, जंकफुड, मःम, चाउमिन, प्याकेटका खानेकुरा, कोक, फ्यान्टाजस्ता चिसो पेय पदार्थ, रक्सी र चुरोट खानु हुँदैन । हेपाटाइटिस बी र सीबाट पीडित सिरोसिसका बिरामीले चिकित्सकको निगरानीमा औषधिको प्रयोग गर्न सकिन्छ ।

(पेट तथा कलेजोरोग विशेषज्ञ डा. भट्टराई पेट तथा कलेजोरोग उपचार केन्द्रमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

साभारः अनलाइनखबर