सर्लाहीका पत्रकारद्वारा पत्रकार महासंघका प्रदेश अध्यक्षको कार्यक्रम बहिष्कार – Jaleshwortoday

सर्लाहीका पत्रकारद्वारा पत्रकार महासंघका प्रदेश अध्यक्षको कार्यक्रम बहिष्कार

 ३१ भाद्र २०८०, आईतवार २०:५६  
4

जलेश्वरटुडे समाचारदाता
सर्लाही, ३१ भाद्र

सर्लाहीका पत्रकारले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णको कार्यक्रम बहिष्कार गरेका छन् ।

यूएस–एआईडीले शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरेको एक कार्यक्रममा महासंघका मधेश प्रदेश अध्यक्ष कर्णको समेत प्रस्तुतिकरण रहेको थियो । तर, अध्यक्ष कर्णले महासंघको सदस्यता वितरण तथा नवीकरणका लागि जिल्लाबाट पठाएको नामावलीलाई बेवास्ता गर्दै आफू र महासचिव मात्रै बसेर धेरैजसो गैर–पत्रकारलाईसदस्यता दिने र क्रियाशील रहेकालाई पाखा लगाउने हिसाबले केन्द्रीय समितिमा नामावली सिफारिस गरेर महासंघलाई थप बदनाम गराउने कार्य गरेको भन्दै जिल्लाबाट कार्यक्रममा सरिक हुन गएका पत्रकारले कार्यक्रम बहिष्कार गरेका हुन् ।

कार्यक्रममा सहभागी पत्रकार महासंघ मधेश प्रदेशका सदस्य तथा महासंघका पूर्व सर्लाही अध्यक्ष शंकर श्रेष्ठले महासंघका प्रदेश अध्यक्ष कर्णको प्रस्तुति बहिष्कार गरेर बाहिर निस्किएको बताए । जिल्लाले सिफारिस नै नगरेका व्यक्ति तथा लुम्बिनी घोषणा पत्र अनुसार सदस्यता नवीकरण गर्न नमिल्ने भएपछि सिफारिस नै नगरिएका व्यक्तिलाई नै प्रदेशबाट सिफारिस गरिएकाले, त्यस्तो गतिविधिमा संलग्न व्यक्तिको प्रस्तुति सुन्नु अनुचित लागेको श्रेष्ठले बताए ।

नेपाल आदिवास जनजाति पत्रकार महासंघ (फोनिज) का सर्लाही अध्यक्ष घनश्याम बलम्पाकीले अन्य प्रस्तुतिमा सहभागी भएपनि पत्रकार महासंघका मधेश अध्यक्ष कर्णको प्रस्तुति बहिष्कार गरेको बताए । महासंघको प्रदेश अध्यक्ष र महासचिव मात्रै बसेर मनपरी ढंगले अधिकांश गैर–पत्रकारलाई सदस्यता दिने तथा नवीकरण गराउने हिसाबले नाम सिफारिस गरिएको भन्दै केही दिनअघि आठवटै जिल्लाका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गरी विरोध जनाएका थिए ।