जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ मंसिर
उद्योग वाणिज्य संघ जलेश्वरले विधान विपरित सदस्यता वितरण गरिरहेको आरोप संघका प्रथम उपाध्यक्ष दिपुकुमार साहले लगाउनु भएको छ । संघका प्रथम उपाध्यक्ष दिपुकुमार साहले बिहीबार एक विज्ञप्ति जारी गर्नुहुदै संघको इतिहासमै नीजि विद्यालयका सञ्चालकहरुलाई सदस्यता नदिइएको भन्दै वर्तमान कार्यसमिति नीजि स्वार्थमा लागेर उनीहरुलाई पनि सदस्यता वितरण गरिरहेको आरोप लगाउनुभएको छ । वि.सं.२०४७ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दर्ता गरिएका जलेश्वर उद्योग वाणिज्य संघको २०६३ मा गरिएको संशोधन तथा यहि कात्र्तिक १६ गते गरिएको संशोधनमा स्पष्ट रुपमा ‘सदस्य भन्नाले राजश्व कार्यालयमा अनिवार्य रुपले दर्ता रहेको र दर्ता गर्ने फर्म, उद्योगी, व्यवसायीहरुलाई जनाउँछ’ भन्ने उल्लेख रहेपनि कार्यसमितिले सो को गलत अपब्याख्या गर्दै सदस्यता वितरण गरिरहेको आरोप प्रथम उपाध्यक्ष साहको रहेको छ । विज्ञप्तिमा कुनियत मानसिकता राखी नीजि विद्यालयका संगठनका पदाधिकारीहरुलाई सदस्यता वितरण गरिरहेको कार्यको भत्र्सना गर्नुहुदै यसको विरुद्ध लाग्न उद्योगी, व्यवसायीसंग आग्रह समेत गरिएको छ । उद्योग वाणिज्य संघ जलेश्वरको ७ वर्षपछि मङसिर २० गते २५ औं साधारण सभा तथा २७ गते कार्यसमितिको निर्वाचन हुन गइरहेको छ । यस सम्बन्धमा जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले विधानको व्याख्या गर्ने अन्तिम अधिकार कार्यसमितिको रहेको बताउनुहुदै कार्यसमितिले सेवामूलक प्यान नं. लिएका सबै व्यवसायीहरुलाई सदस्यता दिने निर्णय गरेको भन्नुहुदै प्रथम उपाध्यक्षले लगाउनुभएको आरोप निराधार रहेको बताउनुभयो ।