जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १० असोज
चीनको हान्जाउमा जारी एसीयाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले कयौं विश्व कीर्तिमान बनाएको छ । कमजोर मंगोलिया विरुद्धको पहिलो खेलमा नेपालले थुप्रै कीर्तिमान बनाएको हो ।
नेपालले बनाएका कीर्तिमान
मङ्गोलियाविरुद्ध नेपालले तीन विकेट गुमाएर ३१४ रन बनायो । टि-२० क्रिकेटमा यो सबैभन्दा धेरै रन हो ।
ईएसपीएन क्रिकइन्फोका अनुसार यसअघि सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध अनि चेक रिपब्लिकले टर्कीविरुद्ध बनाएको समान २७८ रनको कीर्तिमान यसपालि नेपालले तोडेको छ ।
नेपालका ब्याटर कुशल मल्लले ३४ बलमा शतक हानेर विश्वकीर्तिमान बनाए । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले टी-२० अन्तर्राष्ट्रिय खेलमा ३५ बलमा शतक बनाएका थिए।
पाँचौ ओभरमा ओपनर आशिफ शेख आउट भएपछि कुशल मल्ल मैदानमा उत्रिएका थिए ।
टी-२० को कुनै पनि खेलमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ।
उनले आईपीएलको सन् २०१३ को संस्करणमा बेङलोरमा खेल्दै पुणे वारियर्सलाई ३० बलमै शतक प्रहार गरेका थिए।
एकदिवसीय अन्तर्राष्ट्रियमा भने दक्षिण अफ्रिकाका एबी डि भिलियर्सले ३१ बलमा शतक बनाएर कीर्तिमान राखेका छन्।
मल्लले कुल ५० बल खेलेर अविजित १३७ रन बनाए। उनले १२ छक्का र ८ चौका प्रहार गरे ।
मल्लको शतकपछि दीपेन्द्र सिंह ऐरीले टी-२० आईमा छिटो अर्धशतकको कीर्तिमान पनि बनाए। उनले ९ बलमै अर्धशतक प्रहार गरे । उनले आठ छक्का प्रहार गरेका थिए।
उनी १० बलमा ५२ रन बनाएर अविजित रहे । यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा थियो, जसले सन् २००७ मा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।
उनको ५०० भन्दा धेरैको स्ट्राइक रेट पनि कीर्तिमान हो । यसअघि जिम्बाबेको घरेलु क्रिकेटमा ४३० को स्ट्राइक रेट सबैभन्दा धेरै थियो ।
ओडीआईमा सन् २०१५ मा दक्षिण अफ्रिकाका एबी डि भिलियर्सले वेस्ट इन्डिजविरुद्ध १६ बलमा अर्धशतक बनाएका थिए।
यसअघि नेपालका ज्ञानेन्द्र मल्लले सन् २०१२ मा साउदी अरबविरुद्ध एसीसी इलीट ट्रफीमा १८ बलमा अर्धशतक प्रहार गरेका थिए।
विशाल लक्ष्य पछ्याउन आएको मङ्गोलिया ४१ रनमै अलआउट भयो। नेपालले २७३ रनको अन्तरले खेल जित्यो । यो पनि आफैँमा कीर्तिमान हो । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध २७५ रनको अन्तरमा जित हासिल गरेको कीर्तिमान थियो ।
नेपालले खेलमा कुल २६ छक्का प्रहार गर्यो । यो पनि विश्व कीर्तिमान हो । यसअघि सन २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २२ छक्का प्रहार गरेको थियो ।
एशियाली खलेमा पुरुष क्रिकेटतर्फ नेपाल, मङ्गोलिया र माल्दिभ्स समूह एमा छन्। समूह बीमा क्याम्बोडिया, हङ्कङ र जापान छन् भने समूह सीमा मलेशिया, सिङ्गापुर र थाईल्यान्ड छन्।
विश्ववरीयतामा अग्रपङ्क्तिमा रहेका कारण भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान सोझै क्वार्टरफाइनल पुगेका छन्।