जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ असोज
नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष रामकुमार महतोलाई धनुषाको ढल्केवरमा सम्मान गरिएको छ । महतो विशेष पहल र निरन्तरको सक्रियताले ढल्केवरमा मालपोत कार्यालय सञ्चालनमा आउने निश्चित भएपछि उनलाई यहाँका युवाहरुले सम्मान गरेको हो । बुधबार मिथिला नगर पत्रकार सञ्जालको सभाकक्षमा एक अनौपचारिक कार्यक्रमबीच मिथिला लायन्स क्लबका अध्यक्ष प्रदिप महतो, मिथिला उद्योग बाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह, मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष महतो, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ढल्केवरका अध्यक्ष नारायण बास्तोला, मिथिला युवा सञ्जालका अध्यक्ष मनिष महतो र मिथिला नगर पत्रकार सञ्जालका सचिव विजयकुमार साहलगायत स्थानीय युवाहरुले अबिर माला लगाएर सम्मान गरेको बताइएको छ । कार्यक्रममा उपाध्यक्ष महताले करिब ढेड महिनाको अथक प्रयासपछि ढल्केवरमा मालपोत कार्यालय सञ्चालनका लागि ढोका खुलेको बताए । उनले सबै प्रक्रिया पुरा भएको र केही महिनाभित्र कार्यालय सञ्चालनमा आउने जानकारी दिए ।उपाध्यक्ष महतोले यसमा मेरो मात्रै मेहनत नभएर सदैव ढल्केवरको विकासका पक्षमा देखिने स्थानीय युवाहरुको महत्वपूर्ण सहयोग रहेको भन्दै सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई सम्झेका थिए । यता, सम्मान कार्यक्रममा सहभागी युवाहरुले ढल्केवरको विकास र हितमा काम गर्ने जुनसुकै राजनीतिक दलका प्रतिनिधि भएपनि हाम्रो साथ र सहयोग रहने बताए ।