जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ असोज
धर्मगुरु आचार्य श्रीनिवासलाई धनुषा प्रहरीले रिहा गरेको छ । सुनसरीमा पक्राउ परेका उनलाई बिहीबार धनुषा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी तीन दिनसम्म थुनामा राख्न आदेश दिएको घन्टा नवित्दै रिहा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बयान लिएपछि उनलाई बिहीबार साँझ रिहा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जनाएको छ । श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
कानूनी प्रक्रिया पुरा गराएर आचार्यलाई रिहा गरिए जानकी मन्दिरमा दर्शनका लागि पुगेका उनको रामानन्दिय बैष्णव संघले धर्मगुरु श्रीनिवासलाई स्वागत समेत गरेका छन्। रामानन्दिय बैष्णव संघले भव्य स्वागत समेत गरेका छन् ।
रामानन्दिय बैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले सनातन धर्मगुरु निवासाचार्यलाई रिहाई नगरिएको आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।
जनकपुरधाम स्थित धार्मिक र्यालीमा श्रीनिवासले गौहत्या गर्ने विरुद्ध चर्को अभिव्यक्ति दिँदै बोल्ने क्रममा खुकुरी देखाउँदै हत्या गर्ने चेतावनी दिएका थिए । सोही टिप्पणी सहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।
मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर अभियोग गर्दा भएपछि जनकपुरधाम ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा वयानका क्रममा श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको स्वीकार गरेका थिए। ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’, श्रीनिवासको वयान उधृत गर्दै धनुषाका डीएसपी रञ्जल अवाले भने ।