
जलेश्वरटुडे समाचारदाता
धनुषा, २० असोज
सस्ता बजारको नामले जनकपुरधाममा प्रत्येक वर्ष झै यस वर्ष पनि विजयादशमी लक्षित बजार लाग्ने भएको छ । यस अघिका दिनमा धनुषाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लाग्ने मेला यस वर्ष उद्योग बाणिज्य संघको अध्यक्षता र अगुवाईमा लाग्ने भएको छ ।
बजारको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको अगुवाईमा हुने छ भने धनुषाका सिडिओ, जनकपुरधामका मेयर, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक, नेपाल पत्रकार महासंघका अध्यक्ष सम्मिलत संरक्षक तथा सल्लाहकार समिति थप गठन गरि बजारको अभिभावकत्व प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । यद्यपि उनले जनकपुरधामका मेयर र नेपाल पत्रकार महासंघका अध्यक्ष संग सो विषयमा सहमती लिन वाँकी रहेको पनि बताए । उनले बजार व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत गठन गर्ने निर्णय भएको बताए । असोज २८ गते घटस्थापनाका दिन देखि कार्तिक पाँच गते अष्टमी तिथि सम्म गोपाल धर्मशालामा बजार लाग्ने जहाँ दैनिक उपभोग्य, चाडपर्वका सरसमान देखि विभिन्न समानहरु सुपथ र शुलभ तरिकाले एकै ठाँउमा उपलब्ध हुने उद्देश्य राखिएको छ । बैठकमा धनुषाका सिडिओ, प्रहरी प्रमुखहरु, संघका पदाधिकारी, पुर्व पदाधिकारीहर र सदस्यहरुका साथै नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाईटी, उद्योगी व्यवसायीहरुको उपस्थिती थियो ।