इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउने तयारी, नेपाल फर्कन चाहनेलाई नाम टिपाउन सरकारको आग्रह – Jaleshwortoday

इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउने तयारी, नेपाल फर्कन चाहनेलाई नाम टिपाउन सरकारको आग्रह

 २२ आश्विन २०८०, सोमबार २२:१७  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ असोज

सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने तयारी थालेको छ । इजरायलमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।

मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको विज्ञप्तीमा उल्लेख छ।

इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको पनि उल्लेख छ।

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत् आवत जावत सुचारू भइरहेको जानकारी समेत प्राप्त भएको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सरकारले परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ । उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको छ।यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको जनाएको छ । द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि दाबी गरिएको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले आवश्यक जानकारी लिन र सम्पर्कमा रहन सरकारले अनुरोध गरेको छ ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले सम्बन्धित सवैमा हार्दिक अनुरोध गरेको छ ।