जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ असोज
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र माओवादी विकास गर्न नसकेर आत्तिएको बताएका छन् । बुधबार जनकपुरमा एमालेको प्रथम मधेश प्रदेश उद्घाटनलाई जनकपुरधाममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अब एमालेलाई मात्र गरेर काँग्रेस र माओवादीको भविष्य अन्धकारमा जाने बताए । ‘काँग्रेस माओवादी हामी संग किन आत्तियो, एमालेले काम गर्न नसकेर हो र ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । तपाईहरु सुध्रिनु हुन्न भने एमालेका मात्रै विरोध गरेर भविष्य सुरक्षित हुने छैन । अन्धकारि तिर जाने नै हो’ उनले भने ।
उनले २०७४ को चुनावमा मधेशमा एमालेलाई प्रवेश निषेध गर्ने अवस्था बनाएपनि २०७९ मा प्रदेश र प्रतिनिधिसभा सदस्यमा ठूलो दल बनेको तर्क गरे ।
‘२०७४ को निर्वाचनमा हामीलाई प्रवेश गर्न दिने अवस्था थिएन । २०७९ को निर्वाचनमा परिणाम बेग्लै आयो ।’ उनले भने ।
उनले एमालेको बहुमत नआएसम्म मधेशको भविष्य नबन्ने तर्क गरे । एमालेको सरकारको पालामा नै हुलाकी सडक बनेको उनले दावी गरे । सुनकोसी मरिण डाइभर्सनको काम सुरु भएको, रेल चलाउने लगायत ठूलो कामहरु भएको बताउँदै काँग्रेस माओवादी विकासको चर्चा समेत नर्ग नचाहेको टिप्पणी गरे ।
राजतन्त्रको बेला आफूलाई धर्मप्रसाद ढकाल मारेको आरोप लगाएर ज्यान मुद्दामा फँसाएको घटना स्मरण गर्दै उनले अहिले काँग्रेसले अझै पनि एमाले नेताकार्यकर्तालाई फसाउने गरेको आरोप लगाए ।