लगानी बिना एसियाडमा कबड्डीले दिलाएको मेडल – Jaleshwortoday

लगानी बिना एसियाडमा कबड्डीले दिलाएको मेडल

 २६ आश्विन २०८०, शुक्रबार २१:३१  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २६ असोज

राष्ट्रिय महिला कबड्डी टिमले चीनमा भएको एसियाली खेलकुदमा कास्य पदक जित्यो । एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको भए पनि कबड्डी खेल कसैको प्राथमिकतामा थिएन ।

कबड्डी प्राथमिकतामा हुन्थ्यो भने त नियमित प्रशिक्षण लागि खेलाडीले हल पाउथेँ, नियमित रुपमा प्रतियोगिता खेल्न पाउँथेँ । तर कबड्डी टिमले त अभ्यास गर्ने ठाउँ नै पाएनन् । प्रतियोगिताका लागि जम्मा ३ महिनाको प्रशिक्षण गरेको कबड्डी टिमले एक महिना भारतमा बिताएको थियो भने एक महिना दशरथ रंगशालाको मैदान तथा ट्रयाकमा र अर्को १ महिना लैनचौरस्थित टेबल टेनिसको हलमा त कहिले चौमतीको हलमा अभ्यास गरेको थियो ।

‘न कबड्डीको हल थियो न त लगानी तर हामीले मेडल लिएर आयौं’, कप्तान मेनुकाकुमारी राजवंशी भन्छिन् । राज्यको लगानी बिना पनि खेलाडीको मिहिनेतको बलमा यो पदक आयो । आफ्नै हल नभएकाले विरालोले बच्चा सारे जसरी ठाउँ सारेर अभ्यास गराउनु परेको बाध्यता प्रशिक्षक पार्वती राई सुनाउँछिन् । ‘हामीसँग आफ्नो हल छैन । के गर्नु जताजता खाली हुन्छ, त्यतैत्यतै जाँदै प्रशिक्षण गर्‍यौं ।’

प्रशिक्षणका लागि राखेपले म्याट दिएको थियो, तर खेलाडीले त्यो ओछ्याउने ठाउँ पाएनन्, ‘हामीसँग राखेपले दिएको म्याट छ, तर ओछ्याउने हल छैन’ कप्तान मेनुकाले अनलाइनखबरसँग भनिन् ।

चीन उड्नुअघि नै पदक जित्नेमा ढुक्क

राष्ट्रिय खेलकुद परिषद र अन्य खेल पदाधिकारीले पदकको आशा गरिएको खेलमा कबड्डीलाई नराखे पनि खेलाडी भने चीन प्रस्थान गर्नुअघि नै पदक जित्नेमा ढुक्क थिए । एसियाली खेलुकदको कबड्डीमा ७ टिम सहभागी थिए र नेपालको समूहमा इरान र बंगलादेश गरी ३ टिम मात्र । ३ टिम हुनुको अर्थ एउटा खेल जितेमा पनि सिधै सेमिफाइलनको यात्रा थियो । कबड्डीमा सेमिफाइनल पुग्ने टिमले कास्य पदक पाउने थियो । ‘हामी बी पोलमा पर्नु निकै भाग्यको कुरा थियो,’ मेनुकाले भनिन्, ‘बंगलादेशसँग खेल पर्नु, बंगलादेशसँग हामीले १३ औं सागमा खेलिसकेका थियौं ।’ नेपालले १३ औं सागमा बंगलादेशसँग खेलेर जितेको थियो । यसपालि पनि बंगालदेशलाई जित्ने विश्वास खेलाडीमा थियो । ‘हाम्रो समूहमा बंगलादेश हुने बित्तिकै हामीले पदक लिएर आउने पक्का थियो । हामीमा त्यो विश्वास थियो । उनीहरुको खेल्ने तरिका थाहा थियो र जित्ने विश्वास पनि थियो’, प्रशिक्षक राईले भनिन् । यो समूहको अर्को टोली इरानले यसअघिको संस्करणमा स्वर्ण जितेको थियो, इरानले बंगलादेशलाई हराउनेमा खेलाडीलाई कुनै शंका थिए । त्यसैले खेलाडीहरु बंगलादेशलाई हराउँदै पदक जित्ने योजनासहित चीन उडेका थिए । ‘जानेबेला नै टिमको फिक्सर आइसकेको हुनाले प्रतिस्पर्धी थाहा थियो,’ प्रशिक्षक पार्वतीले भनिन्, ‘हामीलाई पदक ल्याउने विश्वास थियो ।’