पशु चौपायालाई बचाउन जरुरी – Jaleshwortoday

पशु चौपायालाई बचाउन जरुरी

 १ फाल्गुन २०८०, मंगलवार ०२:०४  
Untitled

  • प्रा.पवन कुमार साह

चालु आर्थिक वर्षमा २१ वटा जिल्लाका पशुचौपाया खोरेत रोग प्रभावित भएका छन् । भाइरसको संक्रमणका कारण पशुचौपायामा लाग्ने यो रोग आर्थिक वर्ष २०८०÷०८१ मा २१ जिल्लाका पशुमा देखिएको हो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, ओखढुङ्गा, धादिङ, चितवन, कास्की, गोरखा, तनहुँ, नवलपुर, मोरङ, झापा लगायतका जिल्लामा यो रोग देखा परेको हो । जाडोमा खोरेत रोगको भाइरस बढी सक्रिय हुने भएकाले पुस र माघ महिनामा पशुचौपायामा यो रोग बढी देखिन्छ ।
‘सबै भाइरसमा लागु हुँदैन तर खोरेत रोगको भाइरस पुस, माघमा बढी फैलिएको पाइएको छ,’। ‘गत वर्ष करिब ९ वटा जिल्लामा मात्रै यो रोग देखिएको थियो तर यो वर्ष २१ वटा जिल्लामा देखिएको छ ।’
खोरेत रोग प्रभावित जिल्लामध्ये कुनैमा पहिला नै देखिएको र कुनै नयाँ थपिएको हो । ‘हाल खोरेत रोग देखा परेको कुनै पुरानै क्षेत्र हो भने कुनैमा हालमात्रै यो रोग फेला परेको छ,’।
नेपालमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा खोरेत रोग प्रभावित क्षेत्र बढेको छ । ‘गत वर्ष ९ वटा जिल्लामा यो रोग देखिएको थियो,’ । ‘यो वर्ष २१ जिल्लामा देखिएको छ, अघिल्लो वर्षमा झन् बढी ४५ जिल्लामा यो रोग देखिएको थियो ।’
बागमती र गण्डकी प्रदेशमा खोरेत रोगको बढी जोखिम रहेको देखिन्छ । ‘बागमती र गण्डकी प्रदेशमा मासुका लागि बढी पशु चौपाया ओसारपासार हुने भएकाले यो रोगको बढी जोखिम छ,’ । ‘लुम्बिनी, कोशी र सुदूरपश्चिममा खोरेत रोगको जोखिम केही रहे पनि कर्णाली प्रदेशमा कम जोखिम छ ।’
खोरेत रोग गाई, भैँसी, बङ्गुर लगायत अन्य खुरफट्टा जनावरमा अत्यन्तै सानो ‘पिकोर्ना’ नामक भाइरसबाट लाग्छ । खोरेत रोग लागेको जनावरसँग सम्पर्क भएमा वा दूषित दाना, पानी र हावाको माध्यमबाट यो रोग महामारीको रूपमा फैलने गर्दछ । रोगको असर लामो समयसम्म रहन सक्ने छ । बाच्छाबाच्छी, पाडापाडी र बङ्गुरका पाठापाठीहरु खोरेत रोग लागेमा मर्ने सम्भावना बढी हुने गर्दछ ।
पशुचौपायालाई ज्वरो आउने, ¥याल चुहाउने, खुट्टा खोच्याउने, दुधालु गाई, भैँसीको दुध उत्पादन घट्ने गर्दछ । मुख र खुरको कापको साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोका देखिने हुन्छ । यस्तै, ब्याउने पशुहरू तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठी मर्न सक्दछन् । खोरेत रोग फैलने मुख्य कारण रोगी वा रोगाणु बाहक जनावरको आवतजावत हो । नेपालमा खासगरी गाई, भैँसी, खसीबोका, राँगो, गोरु र बङ्गुरको अनियन्त्रित ओसारपसार, सामूहिक र घुम्ती चरन पद्धतिको कारण पशुको सम्पर्क बढ्नाले रोग फैलाउन मद्दत पुग्ने गरेको पाइएको छ । यस्तै, कृषक, भेटेरिनरियन तथा पशु प्राविधिकहरु खोरेत रोग फैलिएको एक गोठमा भएको पशुसँगको सम्पर्कपछि अर्को गोठमा जाँदा जनावरसँगको सम्पर्कबाट पनि फैलन सक्ने हुन्छ । त्यसकारण यतिबेला घरपालुवा जनावरहरुलाई रोग लाग्नबाट बचाउन तथा पोषिलो खानेकुरा दिन आवश्यक रहन्छ ।