महाशिवरात्रीको अवसरमा बाबा जलेश्वरनाथ महादेव परिसर देखियो मनमोहक – Jaleshwortoday

महाशिवरात्रीको अवसरमा बाबा जलेश्वरनाथ महादेव परिसर देखियो मनमोहक

 २४ फाल्गुन २०८०, बिहीबार २३:२३  
431815303_913331447467413_2393107880932377773_n

जलेश्वर र जलेश्वरनाथको ब्राण्ड खोज्दै अहिलेको युवा पुस्ता
सरोकारबालाहरु कीन मौन ?

पवन कुमार साह
जलेश्वर, ४ फागुन
यस वर्ष शुक्रबार त्रयोदशी तिथिमा मनाइने महाशिवरात्रीको अवसरमा मधेस प्रदेशको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा अवस्थित बाबा जलेश्वरनाथ महादेव परिसर मनमोहक देखिएको छ । सो क्रममा मन्दिर भित्रका शिव मन्दिर,पार्वति मन्दिर लगायत विभिन्न मन्दिरहरुलाई शयपत्रीको फुलले सजाइएको छ भने विभिन्न ठाउँहरुमा लगाइएको गुलजस्ताले मन लोभ्याउने विश्वास गरिएको छ । मन्दिरलाई पहेलो रंगले रंगरोगन गरिएको छ भने विभिन्न ठाउँहरुमा लेखिएको ओम तथा शिव भगवानसँग सम्बन्धीत लेखहरुले यस क्षेत्रको धार्मिकतालाई दर्शाएको देखिन्छ । मन्दिरको चारै क्षेत्रलाई विभिन्न रंगीचंगी कपडा तथा फुलहरुले सजाइएको प्रष्ट देख्न सकिन्छ । यति मात्र होइन फोटो खिचाउने साइटलाई समेत मूल मन्दिरदेखि दक्षिणपट्टी राखिएको मुल द्वारबाटै देख्न सकिन्छ । साथै भक्तजनहरुको भिडलाई नियन्त्रित राख्न र जलेश्वरनाथको दर्शन सहज बनाउनको लागि बाँसको सहयोगले पूर्व,पश्चिम तथा उत्तरतिर लाइन बनाइएको छ । रात्रिकालमा बालिने झिलिमिली बत्ति तथा छाताको सजावटले मन्दिर परिसरलाई मनमोहक बनाएको देखिन्छ । मन्दिरको मूल द्वारको माथिल्लो भागलाई समेत सयपत्रि फुलको मालाले सजाइएको छ । यति मात्र होइन मन्दिरको मुल द्वारदेखि बाहिरको उत्तरी,पश्चिमी तथा पूर्वी सडकहरु झालर,कपडा तथा स्वागत द्वारले सजाइएको छ । त्यसैगरी प्रत्येक वर्ष झै जलेश्वर टुडे दैनिक पत्रिका परिवार,ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल परिवार(जनकपुरधाम—१२,कुवा) तथा कामिनी व्यूटी पार्लर परिवारले सँयुक्त रुपमा स्वागत द्वार बनाउन लगाएर शहरको सजावट तथा बाबा जलेश्वरनाथ प्रतिको आस्थालाई प्रमाणित गर्न चार चाँद लगाएको देखिन्छ ।

default
default

महाशिवरात्रीको अवसरमा स्थानिय युवा कल्ब तथा सुरक्षा निकायका प्रतिनिधिहरुले बुधबार बिहानै मन्दिर सरसफाई समेत गरेका थिए । पूर्व कार्यक्रम अनुसार बिधिवत रुपमा बिहिबार नगर प्रमुख सुरेश साह सोनार तथा पालिका पदाधिकारीहरु,स्थानिय प्रदेश साँसदहरु,सम्पूर्ण नगरबासी,स्थानिय विद्यालय,कल्ब,विभिन्न संघसंस्था,राजनीतिकर्मी,समाजसेवी,बुद्धिजिवि,सुरक्षा निकाय तथा पत्रकारहरुको उपस्थितिमा कलश शोभायात्रा समेत निकालिएको महाशिवरात्री मेला परिवारले जानकारी गराएका थिए । यसैगरी शुक्रबार महाशिवरात्रीको दिन जलेश्वरनाथलाई बेलपत्र,पुष्प,माला,जल,भाँटा,धानको बाला,दुध लगायतका सामाग्रीहरु अर्पण गरी मनवाँचित फल प्राप्त गर्न जलेश्वरनाथको मन्दिर परिसरमा उपस्थित भई दिन सबै देशी तथा बिदेशी श्रद्धालु भक्तजनहरुसँग नगर प्रमुख सोनारले आग्रह गरेका छन् । साथै यस वर्ष महाशिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर,बृहत फोटो प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको समेत ल.च.मु.मा.विद्यालयको मैदानमा व्यवस्था गरिएको नगर प्रमुख सोनारले जानकारी गराउनु भएको छ ।

बाबा जलेश्वरनाथ महादेवको ईतिहास

Jaleshwor_Mahadev Shivling

कुनै व्यक्तिले नभई स्वयम् अनादी शक्ति स्वयम्भूका रुपमा रहेको पश्चिम भागमा
अर्ध चन्द्रकार चिह्न अङ्कित यस लिङ्गमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ त्यसैले विभिन्न धार्मिक ग्रन्थमा श्लोक लेखिएको छ छु जलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयमू ।
जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजा सहित बीचमा केही उठेको भाग छ ।
मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथ अर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ । अति प्राचीन श्री जलेश्वरनाथ महादेवको सु सञ्चालनको लागि विसं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो । हाल भने मन्दिर बाहेकको कुनै सम्पत्ति मन्दिरसँग नभएको गुठी संस्थान महोत्तरी जलेश्वरका असुली सहायक जयकुमार शर्मा बताउनुहुन्छ । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य
छ । पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको
पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हात खट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर (महादेवलाई भोगराजको लागि मखानको पोखरी), महन्थ पोखरी (पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहे पनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ । मन्दिर सञ्चालन, पुजारी तथा भान्से तथा वर्षभरि हुने सबै पूजापाठको लागि गुठी संस्थानले वार्षिक जम्मा रु ५८ हजार ६०० रकम मात्र सहयोग गर्दै आएको छ । मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित रहेको छ । मन्दिरबारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएकोमा नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर शिवलिङ्गको दर्शन गर्न थालिएको छ । केही वर्षदेखि सशस्त्र प्रहरीले समेत नेपाली सेनासँगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिँदै आइएको छ भने महाशिवरात्रिको दिन दुईदेखि तीन लाख दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ । केही शिवभक्तले गुफाभित्र प्रवेश गरी शिवलिङ्ग दर्शन गर्न जाँदा जलमा खुट्टा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफाभित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छन् ।

3230e2961f9f08e6d5b9b7604aacef4d-v11

परम्परागत तथा आधुनिक परिवेशमा समेत महोत्तरी जिल्ला तथा अहिलेको धनुषा जिल्लाको मुख्य केन्द्र बिन्दुको रुपमा रहेको जलेश्वर र जलेश्वरनाथको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साख तथा ब्राण्ड अहिलेको युवा पिढीले खोज्न थालेका छन् । यत्रो ठूलो पृष्ठभूमि बोकेको जलेश्वर किन विकास तथा जलेश्वरनाथको राष्ट्रियकरण तथा अन्तर्राष्ट्रियकरणमा पछाडी पर्यो त ? यसको दोषि को त ? यावत प्रश्नावलीहरु युवा जमातमा प्रतिपादन भइरहेको अवस्था छ । त्यसकारण यसको समाधानको लागि सर्वप्रथम यहाँको स्थानिय व्यक्तिहरुले आ—आफ्ना तबरबाट सकेसम्मको लगानी गर्न आवश्यक छ भने स्थानिय सरकारहरुले निःस्वार्थ भावले प्रमाणहरु संकलन गरेर यसलाई सम्बन्धीत निकायमा पेश गर्न तथा दबाब दिएर भए पनि यसलाई चिपरिचित गराउन आवश्यक रहेको जनविचार रहेको बुझिन्छ ।
विश्वमै प्रख्यात रहेको जलगुफा भित्रको महाशिवलिंगको स्पर्श तथा दर्शनले विभिन्न रोग व्याधि निको हुने,यश,बैभव,सुख तथा शान्तिको प्राप्ति हुने गरेको जनआस्था रहि आएको छ ।
यस मन्दिरको प्रचारप्रसारको लागि बढी पर्यटक आउने ठाउँहरुमा यस मन्दिर सम्बन्धी जानकारी भएको फ्लैक्स तथा फोटाहरुको व्यवस्थापन गराउन आवश्यक रहेको तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउन सम्बन्धीत सरोकारबालाहरुले समयमै काम गर्न आवश्यक रहेको समेत जलेश्वरटुडे दैनिक तथा अनलाइनको प्रधान सम्पादक प्रा.पवन कुमार साहको सल्लाह रहेको छ ।

images