जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ श्रावण
जनकपुरधाम उपमहा नगरपालिका–९ स्थित ब्रह्मपुरीको थापा चोक नजिक आज बिहान भएको रेल र कार ठोक्किदा दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।
नेपाल रेल्वेको रेल र एक निजी कार एकआपसमा ठोक्किँदा कारमा सवार यात्रुहरू सामान्य घाइते भएका हुन् । बागमती प्रदेश ०१–०२५च १२९० नम्बरको कार बिहान करिब ८ः३० बजे महोत्तरीस्थित पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलसँग क्रसिङ एरियामा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार दुर्घटनाका कारण रेल सेवा केही समय अवरुद्ध भएको थियो ।
प्रत्यक्षदर्शीहरूका भनाइ अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो। कारमा तीन जना सवार थिए, जसमा सबैलाई सामान्य चोटपटक लागेको र कारमा भने ठूलो क्षति पुगेको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।
