
गर्भवती महिलालाई निशुल्क सेवा उपलब्ध हुने
मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत महोत्तरी गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ। One Heart Worldwide को आर्थिक सहयोग तथा रतौली युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलाहरूलाई निशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
एक समारोहका बीच रतौली युवा क्लबका कार्यकारी निर्देशक वैधनाथ चौधरीले महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेलाई मेसिन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण कुमार झा, स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद यादव, विभिन्न शाखाका प्रमुखहरू, गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाका प्रमुखहरू, रतौली युवा क्लबका कर्मचारीहरू तथा One Heart Worldwide का प्रतिनिधिहरूको उपस्थिति थियो।
परियोजनाको उद्देश्य ग्रामीण स्तरमै गर्भवती महिलाहरूलाई समयमै गर्भसम्बन्धी जटिलता पहिचान गरी सुरक्षित मातृत्व सुनिश्चित गर्नु रहेको बताइएको छ। यसै क्रममा, रतौली युवा क्लबका परियोजना संयोजक श्री राज कुमार महतोले मेसिनको प्रयोग, यसको प्रभावकारिता तथा समुदायमा यसले ल्याउने सकारात्मक परिवर्तनबारे जानकारी दिनुभयो।
गाउँपालिकामा अल्ट्रासाउण्ड सेवा उपलब्ध भएसँगै सेवामा पहुँच अभिवृद्धि हुने विश्वास लिइएको छ। यसले सुरक्षित गर्भावस्था तथा मातृ मृत्युदर न्यूनीकरणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।