अजय झा
जनकपुरधाम, ३ पौष
जनकपुरधाम, ३ पौष
“श्रम आप्रवासनका चक्रमा सुशासन : मर्यादित र सीपयूक्त अप्रवासन” मूल नारा सहित अन्तराष्ट्रिय अप्रवासन दिवस देशमा नै सवै भन्दा बढी श्रमिक गएको मधेश प्रदेशमा विभिन्न कार्यक्रम सहित आज मनाईएको छ ।
मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएका कार्यक्रममा सहभागिहरुले नेपालको अर्थतन्त्रमा ठूलो हिंस्सा अगोटेको वैदेशिक रोजगारीलाई अझबढी मर्यादित, व्यवस्थित बनाउनु पर्ने आवश्यकतामा जोड दिनु भएको हो ।
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मा नेपालवाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा २ लाख ७३ हजार ८ सय १० जना श्रमिक वैदेशिक रोजगारीमा गएकोमा त्यस मध्ये मधेश प्रदेशवाट मात्र ५९ हजार ५ सय २३ जना गएको सो कार्यक्रममा जानकारी दिईएको छ ।
नेपालमा गत वर्ष १९६४ अर्ब बजेटमा योगदान रयामिट्यान्सको भएको र चालु आर्थिक वर्षमा ७ सय अर्व र्यामिट्यान्स आईसकेको श्रम तथा रोजगार कार्यालय मधेश प्रदेशका कार्यालय प्रमुख दिवाकर भुजेलले जानकारी दिनु भयो । मधेश प्रदेश र त्यसमा पनि धनुषा जिल्लावाट नेपालमा नै सवै भन्दा बढी संख्यामा वैदेशिक रोजगारीका लागि यूवाहरु गएपनि तुनात्मक रुपमा र्यामिट्यान्स अन्य प्रदेशको तुलनामा कम आएको उहाँले जानकारी दिनु भयो ।
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्रालयका सचिव यूवराज अधिकारीले वैदेशिक रोजगारीमा दैनिक रुपमा १ हजार ७ सय जना नेपाली जाने गरेको बताउदै १ सय ९० देशमा करिव ३० लाखको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीका लागि पुगेको बताउनु भयो ।
उहाँले मधेश प्रदेश सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित तथा शीपयूक्त बनाउनका लागि बजेट तथा कार्यक्रम ल्याएपनि प्रदेशमा रहेको राजनीतिक अस्थिरताका कारणले कार्यान्वयन हुनेमा आशंका रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका सह–सचिव दिपेश मल्लिक, जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साह, आप्रवासन नेटवर्कका मधेश प्रदेश अध्यक्ष जितेन्द्र प्रसाद साहले वैदेशिक रोजगारीलाई सुरक्षित गर्दै मधेश प्रदेशमा श्रमिकहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिनका लागि ठूलो तामिक केन्द्र स्थापनाको माग गर्नु भयो ।
सो कार्यक्रममा श्रम तथा रोजगार कार्यालय मधेश प्रदेशका कार्यालय प्रमुख दिवाकर भुजेज, अधिवक्ता पवन कर्ण र देवनारायण मण्डल सहितकाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
