जीवनराज दाहाल
बर्दिबास, २३ माघ

बर्दिबास नगरका १२ वर्षीय विद्यार्थी आर्सोन भट्टराईले आफ्नै प्रयासमा निर्माण गरेको ‘सारस’ नामक रोबोटले स्थानीयस्तरमा उल्लेखनीय ध्यान खिचेको छ । बर्दिबासस्थित ग्लोबल एकेडेमीमा कक्षा ८ मा अध्ययनरत भट्टराईले करिब १५ दिनको मेहनत र झन्डै ५ हजार रुपैयाँ खर्च गरेर उक्त रोबोट तयार गरेका हुन् ।
रोबोट निर्माणमा विद्यालयका शिक्षकहरूबाट उल्लेख्य सहयोग पाएको आर्सोन बताउँछन् । उनका अनुसार शिक्षकहरूको मार्गदर्शन र प्रोत्साहनले आफूलाई अझ सिर्जनशील बन्न प्रेरणा मिलेको हो ।
‘सारस रोबोट’ निर्माणमा आर्सोनलाई उनका साथीहरू आकाश खड्का र राजित्य चौधरीले पनि साथ दिएका थिए ।
रोबोटमा L298N मोटर ड्राइभर, Arduino UNO R3, ब्याट्री इन्डिकेटर, ब्लुटुथ मोड्युल, मोटर, ब्लुटुथ एम्प्लिफायर तथा स्पिकर जडान गरिएको छ । हाल यो रोबोट अघि–पछि हिँड्न सक्ने र सोधिएका सामान्य प्रश्नहरूको उत्तर दिन सक्ने क्षमतायुक्त छ ।
आर्सोनले कक्षा ४–५ मा अध्ययन गर्दादेखि नै साना–साना प्रयोगात्मक सामग्रीहरू बनाउन थालेको बताउँछन् । उनका अनुसार ‘सारस रोबोट’ मात्र नभई यसअघि सोलिड रकेट जेट, जेट इञ्जिन, पानीबाट चल्ने गाडी, बादर धपाउने गनजस्ता विभिन्न नमुना सामग्रीहरू समेत निर्माण गरिसकेका छन् ।
उनका भविष्यका सपना झन् ठूलो छन् । आर्सोनका अनुसार ‘सारस रोबोट’ लाई पूर्ण रूपमा स्वचालित बनाउने उनको योजना छ । त्यस्तै, नेपालमै सेटेलाइट निर्माण गर्ने र भविष्यमा अन्तरिक्षमा रकेट पठाउने महत्वाकांक्षी सपना पनि उनले बोकेको बताए ।
‘सारस रोबोट’ निर्माणको मुख्य उद्देश्य शिक्षामा सहयोग पुर्याउनु रहेको आर्सोनको भनाइ छ । सानो उमेरमै विज्ञान र प्रविधिप्रति देखाएको यो गहिरो रुचि र लगावले उनलाई भविष्यको सम्भावनाशील आविष्कारकका रूपमा चिनाउन थालेको छ ।
