साउनदेखि आफ्नै भवनबाट सेवा दिने धनुषाधाम नगरपालिका, ५७ करोड २० लाखको बजेट सार्वजनिक – Jaleshwortoday

साउनदेखि आफ्नै भवनबाट सेवा दिने धनुषाधाम नगरपालिका, ५७ करोड २० लाखको बजेट सार्वजनिक

 June 20, 2026  
1

दिपक श्रेष्ठ मण्डल
धनुषाधाम, ६ असार

धनुषाको धनुषाधाम नगरपालिकाले आगामी साउनको दोस्रो सातादेखि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने भएको छ। धनुषाधाम नगरपालिकाको १८औँ नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख बालेश्वर मण्डलले हाल धर्मशाला भवनबाट सञ्चालन हुँदै आएको नगरपालिकाको कार्यालय अब निर्माण सम्पन्न हुँदै गरेको आफ्नै भवनमा सारिने जानकारी दिएका हुन्।
नगरसभामा अफ्नो मन्तव्य राख्दै मेयर मण्डलले आफूले नेतृत्व सम्हालेको समय र हालको अवस्थाबीच नगरपालिकामा ठूलो परिवर्तन आएको दाबी गरे। उनले कृषि, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय काम गरेको बताए।
उनका अनुसार नगरका प्रत्येक वडामा स्वास्थ्य सेवा विस्तार, सडक निर्माण तथा स्तरोन्नति र कृषि क्षेत्रको विकासका लागि विभिन्न योजना कार्यान्वयन गरिएको छ। “हामीले धेरै काम गरेका छौँ, तर पनि केही भएन भन्नेहरू छन्। विरोध गर्नु विपक्षीको काम हो, उनीहरू जुनसुकै अवस्थामा पनि विरोध गरिरहन्छन्,” मेयर मण्डलले भने।
मेयर मण्डलले राष्ट्रिय योजना आयोगसँग पहल गरी नगरपालिकाका लागि करोडौँ रुपैयाँ बजेट ल्याउन सफल भएको उल्लेख गर्दै निर्माणाधीन प्रशासनिक भवनबाट छिट्टै सेवा सञ्चालन हुने बताए। साथै धनुषाधामस्थित ऐतिहासिक धनुष मन्दिरको विकासका लागि राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुंगानाको पहलमा बजेट प्राप्त भएको र यस वर्ष मन्दिर क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे।
नगरसभामा स्वरोजगार शाखा प्रमुख अनिलकुमार यादवले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले आ–आफ्नो शाखासँग सम्बन्धित नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड २० लाख ४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। कार्यक्रममा नगर उपप्रमुख विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराई, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
नगर प्रमुख मण्डलले नगरसभाबाट पारित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्दै नगरवासीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।