मो. इर्शाद
महोत्तरी, २० असोज
जलेश्वर उद्योग वाणिज्य संघले मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको नेतृत्वमा जलेश्वर बजारमा गरिएको बजार अनुगमनको शैलीप्रति आपत्ति जनाएको छ।
अनुगमनका क्रममा व्यवसायीलाई त्रसित तथा आतंकित बनाइएको आरोप लगाउँदै संघले विरोधस्वरूप जलेश्वर बजारसमेत बन्द गरेको थियो।
संघले अनुगमनका नाममा व्यवसायीलाई धम्क्याउने, विधि तथा प्रक्रिया पूरा नगरी जरिवाना गर्ने र व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना गरिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्र बुझाएको जनाएको छ।
संघका अध्यक्ष शिवचन्द्र चौधरीको नेतृत्वमा व्यापारीहरूको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको ज्ञापनपत्रमा असोज २० गते बिहान करिब ८ बजे गृह, सञ्चार तथा कानूनमन्त्री महतोको नेतृत्वमा विभिन्न निकायको टोलीले जलेश्वर बजारमा अनुगमन गरेको उल्लेख गरिएको छ।
अध्यक्ष चौधरीका अनुसार जलेश्वरका व्यवसायीहरू नेपाल सरकारद्वारा निर्धारित नियम तथा कानुनको पालना गर्दै व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका छन्। तर, अनुगमनका क्रममा व्यवसायीलाई आतंकित पार्ने प्रयास गरिएको भन्दै संघले आपत्ति जनाएको हो। यस विषयमा मधेश सरकारसमक्ष जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत ज्ञापनपत्र बुझाइएको अध्यक्ष चौधरीले बताए।
संघका अनुसार व्यवसायीहरू पसल खोलेर सरसफाइमा लागिरहेको अवस्थामा अनुगमन टोलीले आवश्यक विधि र प्रक्रिया पूरा नगरी व्यवसायीलाई त्रसित बनाएको थियो। होटल व्यवसायीले बिक्रीका लागि तयार पारेको मिठाईसमेत नष्ट गर्ने प्रयास गरिएको तथा त्यसको गुणस्तर परीक्षणका लागि प्रयोगशाला जाँच गराउन आग्रह गर्दा बेवास्ता गरिएको व्यवसायीहरूको आरोप छ।
संघको आरोपअनुसार गुणस्तर परीक्षण नगरी सामानलाई गुणस्तरहीन भन्दै नष्ट गर्न खोजिएको, अनावश्यक जरिवाना गरिएको तथा अनुगमनका क्रममा आपत्ति जनाउने व्यवसायीलाई थुनामा राख्ने र मुद्दा चलाउने धम्की दिइएको थियो।
संघले बजार अनुगमनको उद्देश्य व्यवसायीलाई आतंकित बनाउनु नभई उपभोक्ताको हित संरक्षण गर्दै व्यापार–व्यवसायलाई प्रभावकारी रूपमा नियमन गर्नु हुनुपर्ने जनाएको छ।
अनुगमनका क्रममा सम्बन्धित वस्तुको गुणस्तर परीक्षणका लागि आवश्यक प्राविधिक प्रक्रिया तथा प्रयोगशाला परीक्षण अनिवार्य रूपमा अपनाउनुपर्ने मागसमेत संघले गरेको छ।
व्यवसायीमाथि भएको भनिएको ज्यादतीको विरोधमा आफूहरू एकजुट रहेको बताउँदै संघले आफ्ना माग सम्बोधन नभए चरणबद्ध रूपमा विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।
यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका कार्यालय प्रमुख सुनिल चौरसियाका अनुसार मन्त्रीसहित विभिन्न निकायको टोलीले जलेश्वर बजारका चारवटा मिठाई पसलमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा दुईवटा पसलको भान्सा दुर्गन्धित अवस्थामा भेटिएको भन्दै ती पसललाई जनही ५०- ५० हजार रुपैयाँ जरिवाना गरिएको र अर्को एक पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालय प्रमुख चौरसियाले जानकारी दिए।
