मधेस प्रदेशको मुख्यन्यायधिवक्ता पदबाट राजिनामा दिदैं जसपा प्रवेश गरेका झालाई पहिलो दिनमै हुटिङ – Jaleshwortoday

मधेस प्रदेशको मुख्यन्यायधिवक्ता पदबाट राजिनामा दिदैं जसपा प्रवेश गरेका झालाई पहिलो दिनमै हुटिङ

 September 4, 2022  
nn

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ भाद्र्र

मधेश प्रदेशको मुख्यन्यायाधिवक्ताबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । झाले शनिबार विहान मात्र राजीनामा दिएका थिए । दिउँसो महोत्तरीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरे । उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाउनुका साथै गम्छा ओढाएर स्वागत गरे । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने योजनाका साथ पार्टी प्रवेश गरेको उनले सुरुमा विरोध खेप्नु परेको छ । उनी बोल्न शुरु गर्दा कार्यकर्ताकै हुटिंग भयो । यद्यपि बोल्नबाट झा रोकिएनन् । ‘घर प्रवेश गर्ने मान्छेलाई दरबाजामा रोकिँदैन, दुव्र्यवहार गरिँदैन,’ उनले भने, ‘मलाई बोल्न अंकुश लगाउनु राम्रो होइन । यदि मबाट कुनै गल्ती भएको भए, म प्रवेश गर्दा कसैलाई तकलिफ भएको भए क्षमा चाहन्छु ।’ आफू समाजसेवा र वकालत छोडेर जसपा प्रवेश गरेको भन्दै झाले सार्वजनिक कार्यक्रममा बोल्न अंकुश लगाइदिनु लोकतन्त्रका लागि राम्रो नभएको बताए । ‘मलाई पनि बोल्ने मौका दिनुहोस् । म बोल्दा बीचबीचमा म्यूजिक बजाएर डिस्टर्ब नगर्नुस्,’ उनले भने, ‘मैले राजनीति गर्न खोजेको हुँ, मेरो के गल्ती भयो ?’ आफू कुनै पद लिनका लागि नआएको र यस क्षेत्रको विकास गर्न भिजनसहित आएको झाले बताए । ‘यस क्षेत्रको सडक बन्नुपर्यो, शिक्षा, स्वास्थ्यको सुनिश्चितता हुनुपर्यो’ उनले भने । मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएर जसपा प्रवेश गरेका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनाव लड्न चाहेका छन् । जसपा नेता हरिनारायण यादव पनि टिकटका आकांक्षी छन् । उनी निकट कार्यकर्ताले नै नवप्रवेशीलाई टिकट दिन नहुने भन्दै विरोध गरेका हुन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।