बालबालिकाको खोजतलाशमा चनाखो हुन आग्रह – Jaleshwortoday

बालबालिकाको खोजतलाशमा चनाखो हुन आग्रह

 June 18, 2024  
pramod

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ आषाढ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको खोजतलाशमा सुरक्षा संयन्त्रलाई थप चनाखो हुनका लागि आग्रह गरेकी छन् ।

बालबालिका खोजतलाश सेवा(१०४) संचालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी जनकपुरधाममा मंगलबारदेखि सुरु भएको दुई दिने तालिमको उद्घाटन गर्दै मन्त्री चौधरीले मधेशमा बालबालिका हराउने घटना अधिक रहेको बताइन् । चालु आर्थिक वर्षको ११ महिनामा मधेशमा एक हजार ३ सय २८ जना बालबालिका हराएको छ, उनले भनिन्–यसले मधेशमा बालबालिकाको अवस्था छर्लङ् पारेको छ । बालबालिकाको अधिकारमात्रै होइन, उसको सुरक्षाको प्रत्याभूति पनि राज्यले दिनुपर्ने उनको तर्क थियो ।

मधेशका महिला अन्य प्रदेशको तुलनामा कम साक्षर रहेको जिकिर गर्दै मन्त्री चौधरीले साक्षर दर बढाउन तीनै तहको सरकारले हातेमालो गरेर अघि बढनुपर्नेमा जोड दिइन् ।

मधेशमा महिला साक्षर दर ३९ प्रतिशत मात्र रहेको सुनाउँदै मन्त्री चौधरीले यसलाई वृद्धि गर्नको लागि तीनै तहको सरकारले हातमालो गर्नुको विकल्प छैन् । किशोरीहरुलाई साक्षर बनाउनुका साथै उद्यमशिलता सम्बन्धी तालिम र जनचेतनाको आवश्यक्ता औंल्याउँदै प्रदेश सरकारलाई यस प्रकारको कार्यक्रमहरु ल्याउनको लागि उनले आग्रह गरिन् ।

युनिसेफ नेपाल र भ्वाइस अफ चिल्ड्रेनको सहकार्यमा राष्ट्रिय बाल अधिकार परिष्दले आयोजना गरेको तालिममा मधेश प्रदेशका आठै जिल्लाका महिला तथा बालबालिकाका सेलमा कार्य गर्ने प्रहरीहरुको सहभागिता रहेको थियो ।

बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, खेलकूद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयाल, मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी यज्ञबिनोद पोखरेल, युनिसेफ नेपालका प्रतिनिधि एलिस अकुंगा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघीयता मात्रै मधेशको लागि होइन

खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले संघीयता अधिकारबाट बञ्चित समुदायकालागि रहेको बताएका छन् ।

बालबालिका खोजतलाश सेवा(१०४) संचालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी दुई दिने तालिमको उद्घाटन सत्रमा बोल्दै मन्त्री जैसवालले संघीयता मात्र मधेशको लागि नभएर सिंगो अधिकारबाट बञ्चित, पछाडि पारिएका समुदायको लागि रहेको बताए ।

मुलुकमा लामो अभ्यास नरहेकाले केही समस्याहरु देखिएपनि करिब सात वर्षको कार्यप्रगतिले संघीयताप्रति सवाल खडा गरेको उनले थपे ।

संघीयतालाई संस्थागत गर्न जुन रुपले प्रस्तुत गर्नुपर्ने थियो, उनले भने–त्यो अनुरुप प्रस्तुत गर्न सकेको छैन् । जसका कारण आज संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ । संघीयता जस्तो सुन्दर व्यवस्थालाई सुन्दर बनाउन सबैको सहयोग आवश्यक रहेको मन्त्री जैसवालले बताए ।

मधेश प्रदेश महिला हिंसा, दाइजो, बालविवाह जस्ता सामाजिक अपराधमा अगाडि रहेको स्वीकार गर्दै मन्त्री जैसवालले यसको विरुद्ध सबैको सहयोग अपरिहार्य रहेको बताए ।

मधेश प्रदेश सरकार समन्वय गरेर अघि बढ्न तयार रहेको बताउँदै यसमा सहयोगको लागि संघीय सरकारलाई उनले आग्रह गरे ।

सीमित श्रोतसाधनले अपेक्षा अनुरुप गर्न नसकेको स्वीकार गर्दै मन्त्री जैसवालले सामाजिक कुरीति विरुद्ध तीनै तहको सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।