जीएसएस परियोजनाले रितामा ल्यायो परिवर्तन – Jaleshwortoday

जीएसएस परियोजनाले रितामा ल्यायो परिवर्तन

 June 21, 2024  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ आषाढ

केही दिन अघिसम्म धनुषाको कमला नगरपालिका–२ माचिकी रिता देवी यादव बालबालिकाको हेरचाहसँगै घरपरिवारको कामकाजमै रमाउथे । चुलोचोकौ र घरको काम र बालबालिकाको रेखदेखलाई नै आफ्नो काम मानेर अघि बढेकी रितामा अहिले भने व्यापक परिवर्तन देखिन्छ । उनी अव बालबालिका, घरपरिवार मात्रै गर्दिनन् उनीहरुको स्वास्थ्य र आफ्नो पनि उत्तिकै ख्याल राख्छिन् ।

हुनतः मधेशका महिला शिक्षाको पहुँचमा छैनन् भनेर भनिन्छ । महिलाहरू विद्यालय नजानु भनेको तिनले कसैसँग अन्तरक्रिया गर्न नपाउनु र आफैंमा सीमित रहनु हो । रिता पनि विद्यालयबाट टाढै रहेकी हुन् । आर्थिक रूपमा महिलाको पहुँच नहुनु र घरमा समेत उनलाई कुनै कानुनी (मनमा लागेको बोल्ने, निर्णय लिने) अधिकार थिएन् । तर, शिक्षासँगै महिलाको आर्थिक रुपमा पनि पहुँच बढेको रिता सुनाउँछिन् ।

खाना पकाउनु, खुवाउनु, बच्चा जन्माउनु, श्रीमान्, छोराछोरी वा सासूससुराले जे भन्यो त्यही सुन्नु–काम त्यति नै थियो । ऋब भने बालबालिकाको पोषणयुक्त भोजनसँगै उनीहरुको स्वास्थ्यको पनि उत्तिकै ध्यान दिने गरेको रिता भन्छिन् ।

पाँच सन्तानकी आमा रितालाई अभिभावक शिक्षा कार्यक्रमले घरको कामकाजसँगै स्वास्थ्य, खानेपानी तथा सरसफाईको महत्वबारे सिकाएको छ ।

मधेशका गरिब, दलित, मुस्लिम महिलाहरू अझै पिछडिएको र नाजुक अवस्थामा रहेकाले उनीहरुलाई पनि यस प्रकारको जानकारी दिनुपर्ने बताउँदै उनी आफ्नो छिमेकमा शेयर गर्छिन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा सपोर्ट नेपालले संचालन गरेको कार्यक्रमहरुमा सहभागी भएर रिता अहिले आफू त सचेत भए नै, टोलपडोसका महिलालाई पनि सचेत हुन सहयोग गरेकी छन् ।

बैठकहरुमा सहभागि भएकी रितालाई अव कुरा गर्न कुनै प्रकारको संकोच हुँदैन् । पुरुष अगाडि बोल्न अप्ठयारो मान्ने उनी अहिले भने सहज रुपमा आफ्नो धारणा राख्न सकेकी छन् । गएको ६ महिनादेखि ती वडामा सपोर्ट नेपालले अभिभावक शिक्षा लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको फिल्ड सुपरभाइजर इशा राउतले बताइन् ।

पछिल्ला तथ्यांकले मधेशका महिला स्वतन्त्र हुँदै गएको देखाएको छ । मधेशी महिलाहरु पनि नेतृत्व लिन सक्षम रहेको छ–रिता सुनाउँछिन्–अवसरको अभाव छ । अवसर पाउनको लागि अगाडि आउनुपर्छ उनी भन्छिन् । अगाडि आएमा अवसर आफै प्राप्त हुने तर्क उनको छ ।

केही वर्ष यता मधेशमा पनि आर्थिक गतिविधिमा महिलाहरूको संलग्नता बढेको छ । उनीहरूको कामको गणना र सराहना नभएपनि आफनो उपस्थिति भने दर्ता गराउन लागेको छ ।

कतिपय महिलाले आफ्ना बेरोजगार श्रीमानलाई रिक्सा र ठेला किनिदिएका छन्, पसल थापिदिएका छन् । विकास–निर्माणका काममा मधेशका महिला सहभागी हुन थालेका छन् । शासन÷प्रशासनमा पनि उनीहरूको उपस्थिति केही बढेको छ ।

हस्तकला, चित्रकलामा मधेशका महिलाको छुट्टै ऐतिहासिक पहिचान छ । यसलाई उनीहरूले आर्थिकोपार्जनको बाटो बनाउन सकेका छन् ।

शिक्षा, स्वास्थ्यमा पनि राम्रै हुँदै गएको छ । संघीयतापछि मधेशी महिलाको स्थिति, शिक्षामा पहुँच र सामुदायिक गतिविधिमा तिनको सहभागिता बढेको छ  ।