जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ आषाढ
आफ्नो पहिचान झल्किने पोशाक, कालो बुर्कासहितको पोशाकमा रहेकी धनुषाको विदेह नगरपालिका–३ कि सहाना प्रविण आफ्नो र सन्तानको सुरक्षाप्रति गंभीर देखिन् ।
उनी सन्तानलाई निरोग र स्वस्थ बनाउनको लागि चाहिने आवश्यक आहारको व्यवस्थापन मात्र गर्दैनन्, परिवारका अन्य सदस्यहरुको लागि पनि सफा र स्वच्छ खानेपानी र भोजनको बन्दोबस्ती समेत मिलाउँछिन् ।
घरको कामकाजबाट बचेको समयको सहानाले राम्ररी सदुपयोग गरेकी छन् ।
स्थानीय स्तरमा गठन गरिएको मदिना आमा समूहमा समेत सक्रिय छिन् उनी । साक्षर रहेकी सहानालाई समूहको कोष सम्हाल्ने जिम्मेवारी अर्थात कोषाध्यक्ष बनाइएको छ ।
आमा समूहमा आवद्ध भएको वर्ष दिन हुनै लाग्दा सहाना अव टोलपडोसका महिलाहरुलाई समेत सचेत हुने पहलकदमी थालेकी हुन् ।
मुस्लिम समुदायबाट रहेकी सहानालाई आफ्नो र सन्तानको सुरक्षाका साथै खानेपानी तथा सरसफाई र बालबालिकालाई विद्यालय भर्ना गराउने विषयले पनि उत्तिकै सक्रि बनाएको छ ।
टोलमा सशक्त बालिका परियोजना अन्तर्गत संचालन भएको विभिन्न कार्यक्रम र बैठकहरुमा सहभागि हुँदै जाँदा आज उनी पुरुष अगाडि पनि सहज रुपमा बोल्न र आफ्नो पक्ष राख्न सकेकी छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडीआरसी)ले संचालन गरेको सशक्त बालिका (जीएसएस) परियोजनाले सहानालाई व्यक्तित्व विकासमा सहयोग पुगेको छ । उनी आमा समूहको बैठक वा आयोजक संस्थाले डाकेको बैठक, कार्यक्रमहरुमा समयमै सहभागि हुने गरेको एसडीआरसीका कार्यक्रम अधिकृत निकिता सिंह यादवले बताइन् ।
बिगतमा चुलोचौका सीमित उनी यति बेला भने आफनो हक अधिकार तथा सामाजिक बिकृति बिरुद्ध आवाज उठाउने गरेका छन् । समूहमा आवद्ध भएपछि सामाजिक रुपमा विकृति विरुद्ध आवाज उठाउन सहज भएको उनी स्वीकार गर्छिन् । मुस्लिम महिलाहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धि चिन्ता हुन्छ, उनले भनिन्–हाम्रो समाजले खुलेर अगाडि आउने भन्दैन् । तर, आमा समूहमा सक्रिय भएपछि गर्भवति महिलालाई नियमित स्वास्थ्य जाँच गराउनुपर्ने, पोषिलो खानेकुरा शिशुलाई खुवाउनुपर्ने, खानेपानी तथा सरसफाईमा ध्यान दिनुपर्ने, अभिभावक शिक्षा सत्रमा समेत गंभीर भएर अघि बढेको उनी सुनाउँछिन् ।
समूहमा लाग्नु भन्दा पहिले आफुहरुको गाउँमा झैझगडा, पढाई र सरसफाइृको समस्या, बाल बिवाह लगायतको धेरै समस्या झेलेको भन्दै उनले अहिले भने गाउँमा धेरै परिवर्तन आएको बताईन् । उनले बिगतमा आफनै घरायसी काममा सीमित रहने महिलाहरु अहिले बिस्तारै बाहिर आउन थालेको बताईन् । उनले महिलाहरुको सशक्तिकरण र आयआर्जनमा सशक्त बालिका परियोजनाले काम गर्ने गरेको बताईन ।
महिलासँगै पुरुषलाई पनि सक्षम बनाउनका लागि पुरुष सत्र संचालन भइरहेको एसडीआरसीका कार्यक्रम संयोजक बिबश श्रेष्ठले बताए । अधिकार र अवसरबाट बञ्चित महिलालाई सशक्त बनाएर विकसित समाज स्थापना गर्न सकिने श्रेष्ठको तर्क छ ।
