आसमानद्वारा संचालित परियोजनाको संयुक्त अनुगमन – Jaleshwortoday

आसमानद्वारा संचालित परियोजनाको संयुक्त अनुगमन

 July 27, 2024  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ११ श्रावण

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–९ इटहर्वालाई बालविवाह मुक्त वडा घोषणा गराउन जनप्रतिनिधिहरुले पहलकदमी लिएका छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको परियोजनाहरुको अनुगमन गर्न गएका संयुक्त टोलीलाई सम्बोधन गर्दै वडा नं. ९ का वडाध्यक्ष बृजनन्दन मण्डलले २० वर्ष नपुगेको किशोरकिशोरीको सिफारिस नगर्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाह मुक्त गर्नको लागि कठोर भएर प्रस्तुत हुनुको विकल्प नरहेको उनले बताए ।

धनुषासहित मधेश प्रदेश खुल्ला दिशामुक्त घोषणा भएको कयौ वर्ष भएपनि कार्यान्वयनमा आउन नसकेको सम्झिदै उनले बालविवाह मुक्त घोषणा पनि ठूलो कुरा नरहेको बताए ।

घोषणा त आजै गर्न सकिन्छ, उनले भने–तर, कार्यान्वयन गर्न सकिन्छ कि सकिदैन् । त्यो महत्वपूर्ण कुरा हो । बालविवाह मुक्त घोषणा गर्नको लागि उमेर नपुगेका किशोरकिशोरीहरुको बिबाह सम्बन्धी सिफारिस नगर्ने प्रतिबद्धता जनाए ।

बालविवाह मुक्त अभियानमा जनप्रतिनिधिसहित स्थानीयबासी, भद्रभलादमीसमेतको पनि भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

केही महिना अगाडि मात्र जापान सरकार र प्लान इन्टरनेशनल नेपालको सहयोगमा श्रीशिवशंकर जनता माविमा निर्मित भवनको अनुगमन गर्न गएका दातृनिकाय र आसमान नेपालका कर्मचारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुमराती नदाफ, प्रधानाध्यापक कृष्णदेव यादवले ब्रिफिङ गरेका थिए ।

सो अवसरमा प्लान इन्टरनेशनल नेपालका रविशंकर पण्डितले बालविवाह मुक्त वडा घोषणा गराउन आफूहरुले सक्दो सहयोग गर्ने बताए ।

बालविवाह न्युनिकरण परियोजना विदेहसहित धनुषा जिल्लाको पाँच वटा पालिकाहरुमा संचालनमा छ ।

बालविवाह मुक्त घोषणा गर्न मधेश प्रदेश सरकारले २०३० सम्मको लक्ष्य लिएर अघि बढिरहेकाले सोही अनुसार आफूहरु पनि अघि बढिरहेको पण्डितले बताए ।

प्लान इन्टरनेशनल नेपालका अञ्जु शाक्यले प्लान परिवारको बारेमा परिचयात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवले परियोजनालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, बुद्धिजिवि, नागरिक समाजको भूमिका महत्वपूर्ण रहेकाले सहयोगको लागि आग्रह गरे ।

आफूहरुले विद्यालयलाई नमूना बनाउनको लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै यादवले यसमा तोकिएको सूचकहरु अनुसार तयारीमा जुटनुपर्नेमा जोड दिए ।

सो अवसरमा आसमान नेपालका संजिव साह, विजय सदा लगायतको उपस्थिति रहेको थियो ।