बालविवाह गर्नेको भोज नखाने जातीय माइजनको प्रतिबद्धता – Jaleshwortoday

बालविवाह गर्नेको भोज नखाने जातीय माइजनको प्रतिबद्धता

 August 22, 2024  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ भाद्र

धनुषाको शहीदनगर नगरपालिकाका जातीय माइजन, शिक्षक, समाजका अगुवाहरु बालविवाह विरुद्ध एक हुने भएका छन् । शहीदनगर नगरपालिकामा बिहीबार सम्पन्न छलफलमा उनीहरुले यस्तो विवाहको भोज नखाने प्रतिबद्धता समेत गरेका छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगर पालिकामा आयोजित जातीय माइजन, शिक्षक, समाजका अगुवाहरुको छलफलले बालविवाह गर्नेको भोज नखाने प्रतिबद्धता जनाए ।

बालविवाह समाजका लागि अभिशाप रहेको जिकिर गर्दै उनीहरुले यसको विरुद्धमा आ आफ्नो ठाउँबाट लाग्नुपर्ने धारणा व्यक्त गरे ।

बालविवाहले छोरीलाई पीडादायी जीवन व्यतित गर्न बाध्य पारिरहेकाले सो चुनौति विरुद्ध एकवद्ध रुपमा लाग्नुपर्ने धारणा उनीहरुको थियो ।

सानै उमेरमा विवाह हुँदा बच्चा जन्मिन्छ, शहीदनगर नगरपालिका– बस्ने चमार जातीका माइजन बिगुल महराले भने–यसले उनीहरुलाई विभिन्न रोगले च्याप्ने गरेको छ ।

बच्चा पनि स्वस्थ हुनेनगरेकाले बालविवाह रोक्न समाजलाई सचेत पार्नुपर्ने माइजन बिगुलको तर्क छ ।

समाजको मौन स्वीकृतिमा हानिकारक सामाजिक मुल्य मान्यताले निरन्तरता पाइरहेको ठहर गर्दै समाजमा दिनप्रति दिन हिंसाका घटना बढेको प्रति सामाजिक अगुवाहरुले चासो लिने बेला आएको बिगुलको भनाइ थियो ।

समाजका अगुवा योगेन्द्र रामले हानिकारक सामाजिक मुल्य मान्यताका कारणले समाजमा बाल विवाह र महिला माथि हिंसाको घटना हुने गरेको बताए । समाजमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा योगेन्द्रको भनाइ छ । बाल विवाहमुक्त समाज बनाउनका लागि आफ्नै घरबाट पहलको थालनी गर्नुपर्ने योगेन्द्रको तर्क थियो ।

समाजमा बढ्दै गएको हानिकारक सामाजिक मुल्य मान्यता विरुद्ध सामूहिक प्रयासको आवश्यक्ता रहेको शहीदनगर नगरपालिका–५ स्थित सरस्वती माविकी शिक्षिका सनेचरी देवी कापरको भनाइ छ ।

बालविवाह विरुद्ध कुनै एक निकायले पहल गर्दैमा नियन्त्रण नहुने भएकाले यसमा सबैले सहयोग गर्नुपर्ने धारणा सनेचरीको थियो ।

करिक २५ जना धार्मिक अगुवा, जातीय माइजन र शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आसमान नेपालका प्राविधिक संयोजक (नेतृत्व र निर्णय) रामकुमार महराले बाल विवाह लगायतका हानिकारक सामाजिक मुल्य मान्यता विरुद्ध सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।