जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ पौंष
धनुषाको जनकनन्दनी गाउँपालिकामा पालिकास्तरीय प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा सहभागी वक्ताहरुले प्रारम्भिक बाल विकासको रणनीति आवश्यक भएको बताएका छन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोग तथा जनकनन्दनी गाउँपालिकाको समन्वयमा सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी)ले आयोजना गरेको पालिकास्तरीय प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी कार्यशाला गोष्ठीमा यस प्रकारको रणनीति बनाएर अघि बढेमात्र स्वस्थ र दक्ष जनशक्ति उत्पादन हुने तर्क गरेका थिए ।
सामाजिक विकास र अनुसन्धान केन्द्रका अध्यक्ष मंजु कुमारी यादवको अध्यक्षतामा भएको सो कार्यशाला गोष्ठीमा जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले स्वास्थ्यमा पहुँच तथा प्रारम्भिक बाल विकास सम्बन्धी जिम्मेवारी वहनका लागि स्थानीय सरकार तयार रहेको बताए ।
अध्यक्ष यादवले प्रारम्भिक बाल विकासको भूमिका महत्वपूर्ण रहेकाले यसप्रति जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत गंभीर रुपमा लिएर अघि बढनुपर्नेमा जोड दिए ।
उनले गर्भमा रहेदेखि आठ वर्षसम्मका सबै बालबालिकाहरू प्रारम्भिक बाल विकास कार्यक्रमभित्र समेटिनुपर्नेमा जोड दिए । त्यसको लागि जनकनन्दनी गाउँपालिकामा समेत रणनीति निर्माणमा लागेको यादवले बताए ।
‘तिनै तहमा प्रारम्भिक बालविकास सम्बन्धी संयन्त्र निर्माण गरिनुपर्छ’ उनले भने ‘आजका बालबालिकाहरूलाई प्रारम्भिक बालविकाससँग जोडियो भने भोलि तिनै दक्ष जनशक्ति बन्छन् ।’ यसको लागि कानुन निर्माण मात्रै नभएर नीति र निर्देशिका समेत निर्माण गर्नुपर्ने उनले बताए ।
गोष्ठीमा गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले स्वास्थ्य, शिक्षा र पोषण लगायतका सूचकांकमा सुधार ल्याउनका लागि प्रारम्भिक बालविकास सम्बन्धी रणनीति आवश्यक रहेको बताइन् ।
प्रारम्भिक बालविकास सम्बन्धी रणनीति निर्माण गर्नुपर्ने बताउँदै उनले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् ।
कार्यशाला गोष्ठीमा जनकनन्दनी गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्षले पनि यस प्रकारको रणनीति निर्माण गरेर अघि बढ्ने तर्क गरे ।
वडा नं. १ का वडाध्यक्ष संतोष कुमार गोइत, वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक, वडा नं. ३ का वडाध्यक्ष विशुनदेव साह, वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादव, वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डल र वडा नं. ६ का वडाध्यक्ष सुर्यदेव यादव, कार्यपालिका सदस्यहरु सीता देवी खत्वे, बबिता राय कुर्मी, सोभा देवी सदा, वडा नं. ४ का वडासचिव सुरेश यादव, वडा नं. ६ का वडाध्यक्ष प्रमोद कुमार मण्डल, वडा नंं. ५ का वडाध्यक्ष सुरेश कुमार यादव, सामाजिक विकास र अनुसन्धान केन्द्रका सचिव सोनफी साह, कार्यक्रम संयोजक बिबश श्रेष्ठ, विनिता यादव लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी राज्यले व्यवस्था गरेको ऐन कानुनबारे प्रस्तुतिकरण गरिएको थियो ।
