" >
घरेलु कार्यालयः यहाँ घुस बिना काम हुँदैन् - Jaleshwortoday

घरेलु कार्यालयः यहाँ घुस बिना काम हुँदैन्

 ३० बैशाख २०८२, मंगलवार २३:४६  
44

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३० बैशाख

मधेश प्रदेश सरकारमातहत रहेको कमाउ अड्डामध्ये एक हो–घरेलु तथा साना उद्योग कार्यालय । सबैभन्दा बढी ‘चार्मिङ’ रहेको यातायात कार्यालय प्रदेशमा समायोजना भएका कर्मचारीहरुकोे पहिलो रोजाइमा छन्, यातायातमा जान कर्मचारीहरु मरिहत्ते गर्छन । यातायात जान सकेन भने घरेलु कार्यालयमा जोडवल गरेको पाइन्छ । आठै जिल्लामा स्थापित घरेलु तथा साना उद्योग कार्यालय पनि प्रदेश सरकारमातहत रहेको छ । अघिल्लो समय धनुषास्थित घरेलु तथा साना उद्योग कार्यालयको जिम्मेवारी संतोष कुमार साहले पाएका छन् ।

राजधानी जनकपुरधामको कटैया चौरीमा रहेको घरेलु तथा साना उद्योग कार्यालय केही महिनादेखि नियमित चर्चामा रह्ने गरेको छ ।

मधेश प्रदेश सरकारले उद्योग व्यवसायलाई सम्बद्र्धन गर्नका लागि जग्गा भाडामा दिने, विद्युतीकरणमा सहजीकरण, दर्तामा समेत सहजीकरण गर्ने घोषणा गर्दै आएको छ । तर, साना उद्योग व्यवसाय दर्तामा पनि उद्योगी व्यापारीले घुस पेल्नुपर्ने बाध्यता छ ।

नयाँ उद्योग वाणिज्य दर्ता वा नवीकरण गराउन जाने उद्योगी व्यापारीलाई पहिला चार÷पाँच दिन कार्यालय कुदाएर हैरान पारिन्छ, नाम नछाप्ने सर्तमा एक जना कर्मचारीले भने–थाकिसकेपछि आफै लेनदेनको लागि तयार हुन्छ ।

घरेलु तथा साना उद्योग धनुषामा दैनिक दर्जनौ उद्योगी व्यवसायी प्रशासनिक काम लिएर पुग्ने गरेका छन् । कागजात पुगेको वा नपुगेको जाँच गर्नका लागि कार्यालय प्रमुख साहले एक जना कार्यालय सहयोगीलाई जिम्मा नै दिएका छन् ।

कागजात मिलाउने नाउँमा उनले लेनदेनको सेटिङ गरिसकेपछि कार्यालय प्रमुख साहलाई संकेत गर्ने गरेको श्रोतले बताए ।

श्रोतका अनुसार संकेत पाएपछि मात्र कार्यालय प्रमुख साहले फाइलमा तोक लगाउने गरेका छन् ।

कर्मचारीका अनुसार कार्यालय प्रमुख साहले घुस दिएको वा नदिएको फाइलमै संकेत चिन्ह लगाएर पठाउने गरेका छन् । घुसवापत प्रति फाइल ४ देखि पाँच हजार रुपैयाँ लिने गरेको ती कर्मचारीले भने ।

कार्यालय प्रमुख साह आर्फै भाडामा रहेका कार्यालय भवनको माथिल्लो तल्लामा रहेको भान्छामा गई उद्योगी व्यापारीसित घुसको रकम लिने गरेको श्रोतको दावी छ ।

गएको भदौ २२ गते साह घरेलु तथा साना उद्योग कार्यालय धनुषामा हाजिर भएका हुन् । उनी हाजिर भएदेखि नै कार्यालयमा लेनदेनको क्रम बढेको श्रोत बताउँछ । नयाँ उद्योग दर्ता, नवीकरण वा वाणिज्य दर्ता गराउन दैनिक १० देखि १५ जना सेवाग्राही पुग्ने गरेका छन् ।