एक दिनका लागि गाउंपालिका अध्यक्ष बनेकी दलित किशोरी – Jaleshwortoday

एक दिनका लागि गाउंपालिका अध्यक्ष बनेकी दलित किशोरी

 September 15, 2021  
jpg

जलेश्वरटुडे समाचारदाता
विराटनगर, २९ भाद्र
भारतीय सुपर हिट फिल्म ‘नायक’मा मुख्यमन्त्रीले आफ्नो अन्तर्वार्ता लिइरहेका टेलिभिजन पत्रकार शिवाजी रावलाई राज्य चलाएर देखाउन चुनौती दिन्छन् । शिवाजीको भूमिकामा रहेका अनिल कपुरले त्यसलाई स्वीकार मात्र गर्दैनन्, भ्रष्टाचार अन्त्य गरिदिन्छन् र राजनीतिमा प्रवेश गर्छन् ।मोरङकी किशोरी सुस्मिता ऋषिदेवले पनि एक दिनका लागि बुढीगंगा गाउँपालिकाकी अध्यक्ष बन्ने अवसर पाएकी छन् । १२ कक्षाको तयारीमा रहेका उनलाई सिविन नेपाल, विराटनगरले सोमबार एक दिनका लागि गाउँपालिका अध्यक्ष बन्ने प्रस्ताव राखेको थियो । नायक फिल्म हेरेकी उनलाई शुरुमा त यो प्रस्ताव निकै अप्रत्याशित लागेको थियो, तर मंगलबार राष्ट्रिय बाल दिवसका अवसरमा उनी एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी छन् । शुरुमा १६ वर्षीया ऋषिदेवलाई गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले आफ्नो जिम्मेवारी हस्तान्तरण गरे । दुईवटा कार्यालयको अनुगमन गरिन् र गाउँ कार्यपालिकाको बैठकमा सहभागी भएर तीनवटा निर्णय समेत गराएकी छन् ।
एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी ऋषिदेवले स्थानीय कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरिन् । कोरोनाको त्रासका बीच विद्यालय खेल्ने तयारीमा रहेका शिक्षकहरुलाई बालबालिकाको मनोभावना बुझेर अध्ययन गर्न सुझाव दिइन् । उनले स्वास्थ्य चौकी, बुढीगंगा पुगेर खोप र पोषणबारे सचेतना फैलाउन आग्रह गरेकी छन् । दुई कार्यालय अनुगमनपछि गाउँ कार्यपालिकाको बैठकमा सहभागी भइन्, जुन बैठकले तीन निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले जानकारी दिए । बैठकले बालबालिकालाई स्थानीय तहको निर्णय प्रक्रिया, स्थानीय शासनमा बालबालिकाको भूमिकाका विषयमा साझा बुझाइ बनाउन अभिमुखीकरण कार्यक्रम गर्न ५० हजार बजेट विनियोजन गर्ने निर्णय गरेको छ । त्यस्तै बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने र पालिकाले आगामी दिनमा निर्माण गर्ने सबै संरचना बालमैत्री बनाउने निर्णय पनि भएको छ ।
मंगलबार भएका तीनवटै निर्णयलाई औपचारिकता दिन अब बस्ने कार्यपालिका बैठकबाट अनुमोदन गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले जानकारी दिए ।
ऋषिदेवले पनि गाउँपालिका अध्यक्षको रुपमा काम गर्न पाउनु गर्वको विषय भएको बताइन् । बुधबारदेखि शुरु हुने कक्षा १२ परीक्षा दिने तयारीमा रहेकी उनले अनलाइनखबरसँग भनिन्, ‘पिछडिएको वर्ग, त्यसमाथि पनि दलित समुदायको एउटी किशोरीका लागि यो एकदमै खुशीको कुरा हो ।’