जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ आषाढ
मधेस प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा कार्यको प्रमुख अतिथि शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले यस संस्थालाई जोगाउनमा आफूले आमा झै भूमिका खेल्नु परेको बताउनु भएको छ ।
मन्त्री तिवारीले आफू एउटा आमा भएको नाताले हामीले मधेस आन्दोलनबाट जन्माएको मधेस प्रज्ञा प्रतिष्ठानलाई कसरी मार्न दिन सक्छौं त ? यसको संरक्षण तथा प्रबद्र्धनको लागि म सदैब तयार रहने बताउनु भयो । यस मधेस क्षेत्रको कला,र्सस्कृति,भाषा,नाटक लगायतका ६ वटा बिधाहरुलाई बचाई राख्नको लागि यसको स्थापनाको प्रारुप तयार पारिएको थियो । सरकारमा जो कोही रहे पनि मधेस प्रज्ञा प्रतिष्ठानलाई बचाई राख्न सबैको साझा दाँयित्व रहेको बताउनुभयो । विगतमा यस प्रतिष्ठानले बजेट नपाएको कारण करिब दशौ महिनासम्म बिना तलबको काम गर्ने अवस्था आएको कारण खासै कामहरु भएन तर आउदो समयमा यस प्रतिष्ठानले सबै क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री तिवारीले आफ्नो बाजेलाई स्मरण गर्दै प्राकृतिक विरुवा सनको डोरी,बाँसको नाँग्लो,पँखा लगायतको संरक्षण गरिएन भने प्लाष्टिकका सामाग्रीहरु बजारमा पाउन थालेपछि हाम्रो सँस्कृति तथा परम्परा लोप हुन लागेको चिन्ता व्यक्त गर्नु भयो । प्लाष्टिक भन्दा हाम्रो हातबाट बनाइएका सामाग्रीहरु महँगो भए पनि यसलाई प्रोत्साहन गर्न आवश्यक छ । समग्र मधेस प्रदेश २२ जिल्लाको भए पनि मधेस आन्दोलनबाट हामी ८ जिल्ला मात्र सुरक्षित गर्न सके पनि हाम्रो संघर्ष जारी नै रहेकोले हामी २२ जिल्लाको मधेस प्रदेश लिएर छाड्छौं बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानको सदस्य दिनेश यादवले दिनु भएको थियो भने अर्थशास्त्री डा.भोगेन्द्र झा लगायतका अन्य विद्वानहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विशेष मैथिलि परम्परागत नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मधेस प्रदेशको आठ वटै जिल्लाहरुबाट ६ वटै विधाका विद्वानहरुलाई सहभागि गराइएको थियो भने वहाँहरुलाई गमछा ओढाएर सम्मान समेत गरिएका थिए । कार्यक्रमको अध्यक्षता मधेस प्रज्ञा प्रतिष्ठानको अध्यक्ष रामभरोस कापडीले गर्नु भएको थियो ।कार्यक्रम मिथिला बिहारी नगरपालिकाको कल्चरल भिलेजमा समपन्न भएको थियो ।

