जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० आषाढ

डिभिजन वन कार्यालय महोत्तरीद्वारा शुक्रबार वन तथा नर्सरी क्षेत्रको अनुगमन तथा निरीक्षण गरिएको छ ।
वन अधिकृत स्वेता झाले डिभिजन वन कार्यालय महोत्तरीले गरेका कामहरुबारे जानकारी गराउनु भएका थिए । सोही क्रममा पत्रकार तथा सरोकारबालाहरुका जिज्ञासाहरुबारे समेत विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

डिभिजन वन कार्यालय महोत्तरीको कार्यालय प्रमुख अजय कुमार मिश्रको नेतृत्वमा गरिएको अनुगमन तथा निरीक्षण अन्तर्गत बाँके मरहा साझेदारी वन उपभोक्ता समुह तथा टुटेश्वर सवडिभिजन वन कार्यालय उपभोक्ता समुहसँग वर्तमान अवस्था,प्रगति तथा चुनौतिहरु सम्बन्धमा जानकारी लिनुदिनुका साथै स्थलगत रुपमा सो समुहद्वारा बनाइएको वन्यजन्तुमैत्री पोखरी तथा सो क्षेत्रको वनको संरक्षण लगायत काठको चोरी तथा तस्करीलाई रोक्न तारजालि समेतको प्रयोग गरिएको पाइएको थियो ।

अनुगमन तथा निरीक्षणको क्रममा बाँके वन क्षेत्र तथा टुटेश्वर सवडिभिजन वन क्षेत्रहरुमा सुख्खा पोखरी पाइएको कारण जिल्ला समन्वय समिति महोत्तरीको अध्यक्ष सुमन कुमार लाल कर्णले यस्ता पोखरीहरुमा वन्यजन्तुलाई बचाउन तथा संरक्षण गर्नको लागि पानीको भण्डारण गराउन उपयुक्त रहेको बताउनु भयो । साथै यस क्षेत्रमा बन्द अवस्थामा रहेको बोडिंगलाई सुचारु गरी यहाँ भएका भवन तथा अन्य संरचनाहरुलाई डिभिजन वन कार्यालयले आन्तरिक तथा वाह्य रुपमा प्रयोग गरे लाभदायी रहने अध्यक्ष कर्णले सुझाव दिए । निर्माण गरिएका पोखरीहरुका संरचना पनि वन्यजन्तुमुखी नभएको कारण संरचनामा समेत फेरबलदल गरी बाहिरबाट तारबारले घेरा हाल्न आवश्यक रहेको अध्यक्ष कर्णले उपभोक्ता समितिका सदस्यहरुलाई जानकारी गराउनु भयो । अध्यक्ष कर्ण तथा विभिन्न सञ्चारगृहबाट उपस्थित पत्रकार तथा सम्पादकहरुले उपस्थित उपभोक्ता समुहका सदस्यहरुसँग आफ्ना विभिन्न जिज्ञासाहरु राख्दै जम्मा बिक्रि तथा वर्तमान अवस्थामा रहेको सालको काठ तथा अन्य काठको बारेमा जानकारी प्राप्त गरेका थिए । सोहि क्रममा सालको जम्मा काठ नेपाल सरकार तर्फ १३ हजार ५ सय ५८ दशमलब ०१ क्वी.फिट र कुकाठ साल बाहेक जम्मा नेपाल सरकार तर्फ १८ हजार ४ सय ९७ दशमलब ७६ क्वी.फिट मध्ये ३ वटै साझेदारी तथा सामुदायिकमा घरायसी प्रयोजनको लागि विक्रि भएको उपभोक्ता समुहले जानकारी गराए । त्यसैगरी जैबिक मल उत्पादन गर्न थप व्यवस्था गरेको टुटेश्वरनाथ उपभोक्ता समुहले जानकारी गराए ।
त्यसैगरी वन क्षेत्रको साथै महोत्तरी जिल्ला भरी छरिएर रहेका नर्सरीहरु समेत अवलोकन सहित अनुगमन गरिएको थियो । डिभिजन वन कार्यालय महोत्तरीको कार्यालय प्रमुख मिश्रले १५ वटा भन्दा बढी नर्सरीहरु व्यवस्थित रुपमा रहेको तथा सो नर्सरीहरुमा विभिन्न प्रजातिका विरुवाहरु उपलब्ध रहेको बताउनुभयो । वर्षाको पानी पर्नासाथ केहि दिनमै ९ हजार भन्दा बढी विरुवाहरु किसान,सर्वसाधारण,विद्यालय,नीजि नर्सरी तथा नीजि संघसंस्थाहरुलाई वितरण गरिने प्रमुख मिश्रले जानकारी गराउनुभयो । कार्यालय प्रमुख मिश्रले डिभिजन वन कार्यालय महोत्तरीको भवनहरु मरम्मत संभारदेखि बिकेन्द्रीकृत नर्सरीहरु जिल्ला भरी नै संचालन गराएर स्थानिय रोजगारी सृजनादेखि उपभोक्तालाई जिल्ला कार्यालय नै आउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेकोमा धेरै खुशी महसुस भईरहेको बताउनुभयो ।
यस अघि डिभिजन वन कार्यालयले पछिल्लो समय गरिएको कार्यको विवरण सार्वजनिक गर्दै वन अपराध नियन्त्रण, अवैध गाजा खेती उन्मूलन, सामुदायिक वन व्यवस्थापन, काठ तथा दाउरा वितरण र वनसम्बन्धी मुद्दा दायर जस्ता विषयमा उल्लेखनीय प्रगति बारे पत्रकार तथा उपभोक्ता समुह वीच अन्तरकृया गरेका थिए ।
अनुगमनमा अधिकृत राम स्वरूप सिंह,सूचना अधिकृत बेचु कुमार मिश्र लगायत कार्यालयका अन्य कर्मचारीहरुका समेत उपस्थिति रहेको थियो ।
