आरजे ईर्शाद शेख
महोत्तरी, २१ श्रावण
जलेश्वर नगरपालिका–१० लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी स्वरूप वडास्तरीय बालभेला सम्पन्न गरिएको छ। वडाको आयोजनामा रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहयोगमा श्रावण २१ गते आयोजना गरिएको भेलामा समुदायको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रममा बालविवाहको कारण, प्रभाव र रोकथामका उपायमाथि छलफल गरिनुका साथै विद्यालय र समुदायमा निरन्तर सचेतनामूलक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
वडा अध्यक्ष बिकाउदास खतबनियाको अध्यक्षतामा सम्पन्न भेलामा जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार शाह प्रमुख अतिथि थिए। कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, महिला समूह, पत्रकार, प्रहरी प्रशासन र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका उद्घोषक रोशन चौधरी रहेका थिए। भेलापछि जारी गरिएको विज्ञप्तिमा २० वर्षभन्दा कम उमेरमा हुने विवाह मुलुकी अपराध संहिता २०७५ अनुसार कानुनी अपराध भएको र यसमा संलग्न व्यक्तिलाई कैद तथा जरिवानाको सजाय हुने उल्लेख गरिएको छ।
साथै, सामाजिक परम्परा, गरिबी र चेतनाको अभावका कारण मधेश प्रदेशमा अझै पनि बालविवाहको दर उच्च रहेको भन्दै समुदायस्तरमै सचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
वडाले विद्यालयस्तरीय निबन्ध, वक्तृत्वकला, चित्रकला, नाटक, गीत–संगीत प्रतियोगिता, घरदैलो कार्यक्रम तथा सामुदायिक सभामार्फत सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।
वडा अध्यक्ष खतबनियाले जलेश्वर–१० लाई छिट्टै बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
