" >
जलेश्वर–१० बालविवाहमुक्त वडा घोषित - Jaleshwortoday

जलेश्वर–१० बालविवाहमुक्त वडा घोषित

 ३२ श्रावण २०८२, शनिबार २३:५३  
1

आरजे ईर्शाद शेख
महोत्तरी, ३१ श्रावण

जलेश्वर नगरपालिका–१० लाई शनिबार एक विशेष समारोहका बीच “बाल विवाहमुक्त वडा” को रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। बाल अधिकार संरक्षण तथा लैङ्गिक समानता प्रवर्द्धनका लागि स्थानीय स्तरमा यो कदमलाई ऐतिहासिक परिवर्तनको संकेत मानिएको छ।

2

समारोहको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए। उनले बाल विवाहलाई समाजको विकासमा गम्भीर बाधक बताउँदै भने,

विवाह समयमै हुनु आवश्यक छ। कम उमेरमा गरिने विवाहले बालबालिकाको भविष्य अन्धकारमय बनाउँछ। शिक्षामा जोड दिई मात्र समाज अघि बढ्न सक्छ।”

कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले बाल विवाहलाई “भयावह रोग” को संज्ञा दिँदै यसको अन्त्यका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। यस विरुद्धको अभियानमा सबै तहको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
बाल विवाह हुने विवाहमा सहभागी नहुने संकल्प हामी सबैले यहीँबाट गर्नुपर्छ,” उनले जोड दिए।

4

वडाध्यक्ष तथा वडास्तरीय बाल अधिकार समितिका संयोजक विकाउ दास कथबनियाले भने घोषणामात्र पर्याप्त नभई त्यसलाई व्यवहारमा उतार्न समुदायको सक्रियता अपरिहार्य रहेको बताए। उनका अनुसार वडा–१० लाई अब नमुना वडा बनाउने अभियानमा सबैको साथ र सहकार्य आवश्यक छ।

समारोहका अवसरमा रतौली युवा क्लबले जलेश्वर नगरपालिकाको बाल कोष व्यवस्थापनका लागि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। यो चेक उप–प्रमुख रोशन खातुनलाई प्रदान गरिएको हो।
प्राप्त जानकारीअनुसार, उक्त रकम जोखिममा परेका बालबालिकाको संरक्षण र सहयोगका लागि खर्च गरिनेछ। नगरपालिकाले सो रकम बाल कल्याणका क्षेत्रमा प्राथमिकताका साथ प्रयोग गर्ने जनाएको छ।

यो कार्यक्रम USAID, सेभ द चिल्ड्रेन, रतौली युवा क्लब, महिला जागरण समाज महोत्तरी, र जलेश्वर नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल प्रमुख अतिथि थिए भने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नगर उप–प्रमुख रोशन खातुन, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी, नेकपा एमालेका नेता राम आधार कापर, नेपाली कांग्रेसका नेता बजरंग नेपाली लगायत विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, पत्रकार, र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

3

स्थानीय बासिन्दाले वडाको यो नयाँ पहिचानलाई समुदायको चेतना, जागरूकता र परिवर्तनको प्रतिफलका रूपमा लिएका छन्।