जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ भाद्र
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले देश अहिले बिचौलियाको हातमा गएको दावी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका केही नेतालाई विश्वासमा लिएर बिचौलियाहरुले पूरै शक्ति परिचालन गरिरहेको अध्यक्ष यादवले बताए ।
मधेशी स्वास्थ्यकर्मी फोरम, मधेश प्रदेशको दोश्रो अधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै पुर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले देशको सारा पावर बिचौलियाले परिचालन गरिरहेको थपे । यतिखेर नेपालको राजनीति उल्टो दिशामा गइरहेको छ, उनले भने–संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने खेल भइरहेको छ । चुरे विनास हुँदा मधेश मरुभूमि भइरहँदा यसको संरक्षण गर्नुपर्नेमा उल्टै सरकारले भएको वनको जग्गा पनि माफियालाई विक्रि गरेर मधेशलाई उजाड बनाउन भूमि सम्बन्धी विधेयक ल्याउन खोजेको आरोप उनले लगाए ।
चालु आर्थिक वर्षको लागि ल्याएको बजेटमा करिब ६० प्रतिशत जनसंख्या रहेको मधेशमा सरकारले जम्मा ११ प्रतिशत बजेट छुट्टयाएको छ, अध्यक्ष यादवले भने–पछाडि परेको क्षेत्रको विकास गर्न बजेट चाहिन्छ । तर, उल्टै वर्षेनी बजेट कटौती गरेर विभेदपूर्ण व्यवहार गरिरहेको अध्यक्ष यादवले आरोप लगाए । भेदभाव, असमानता र लुटतन्त्र समाप्त गर्नका लागि थप एउटा आन्दोलनको आवश्यक्ता उनले औंल्याए ।
आठ जिल्ला मात्र मधेश नरहेको जिकिर गर्दै उनले मेचीदेखि महाकालीसम्मको मधेशी जनताको मुक्तिका लागि मधेश प्रदेशले नै संघर्ष गर्नुपर्ने धारणा अध्यक्ष यादवले राखे ।
मधेशी स्वास्थ्यकर्मी फोरम, मधेश प्रदेशका अध्यक्ष बिनोद यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले परिवर्तनको आन्दोलनमा स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । सेवासंगै संगठनलाई समेत अगाडि बढाउदै लगेका स्वास्थ्यकर्मीहरुले देश विकासमा गरेको योगदान सराहनीय रहेको उनले थपे ।
उद्घाटन सत्रमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले स्वागत मन्तव्य राख्दै मधेश आन्दोलनलाई सफल पार्न मधेशी स्वास्थ्यकर्मी फोरमको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।
उनले प्रदेश अधिवेशनको सफलताको कामना गर्र्दै नयाँ नेतृत्वले स्वास्थ्यकर्मी फोरमलाई थप सशक्त र सुदृढ रुपले अघि बढाउने विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रमा मधेशी स्वास्थ्यकर्मी फोरमका पदाधिकारीहरुले जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवलाई ५१ किलोको मालाले स्वागत गरेका थिए ।
दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेर सम्पन्न हुने छ । अधिवेशनमा सहभागी हुन मधेश प्रदेशका आठ वटै जिल्लाका २ सय ५० जना प्रतिनिधिहरु जनकपुरधाममा छन् ।
उद्घाटन सत्रमा जसपा, नेपालका केन्द्रीय र मधेश प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो ।
