" >
एकडारा ६ मा नालालाई सुरक्षित बनाउँदै सडक निर्माण शुरु - Jaleshwortoday

एकडारा ६ मा नालालाई सुरक्षित बनाउँदै सडक निर्माण शुरु

 २० भाद्र २०८२, शुक्रबार ००:०१  
3

आरजे इर्शाद शेख
महोत्तरी, १९ भाद्र

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडानं.६ मुस्लिम वस्तीमा पैनी (नाला) को कारण दिनप्रतिदिन सडक साँधुरो हुदै गएपछि स्थानीयबासीहरुले दुवैलाई जोगाउन काम अगाडी बढाएको छ । नालाकै कारण सो वस्तीमा सरसफाईको समस्या समेत विकराल बन्दै गएको थियो ।

स्थानीय नेता हरिनारायण मण्डलले स्थानीयबासीहरुले पटक पटक कृषि नालालाई वचाएर सडक निर्माण गरिदिन आग्रह गर्दै आएको सम्झिनुहुदै स्थानीयबासीहरुले भने अनुसार नै नालासहित सडक निर्माणको कार्य अगाडी बढेको बताउनुभयो ।
उहाँले विहीबार पालिकाका अध्यक्ष दिपनारायण मण्डलले सो सडकको शिलान्यास गर्नुहुदै नालालाई वचाउँदै सडक फराकिलो गर्ने काम अगाडी बढेको जानकारी दिनुभयो । उहाँले यो सडक निर्माण भएपछि नालाका साथसाथै आवतजावतको समस्या समेत हटने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नालाको कारणले मुस्लिम वस्तीमा सरसफाईको अभावको साथसाथै स्वास्थ्यमा समेत समस्या देखिदै आएको बताउनुहुदै भन्नुभयो,‘ सडकसँगै कृषि नाला समेत आठ मिटर चौडाई र त्यत्तिकै लम्बाईको निर्माण भएपछि फोहरको समस्याको साथसाथै आवतजावतमा समेत सहज हुनेछ ।

एकडारा गाउँपालिका वडानं. ६ का वडाध्यक्ष श्याम चौधरीले पालिकाको आर्थिक वर्ष २०८२÷०८३ को विनियोजित बजेटबाट गोनरपुराको मुस्लिम टोलदेखि एकडारासम्म जाने सडक योजनाको शिलान्यास गरिएको वताउनुहुदै सो सडक निर्माणले पैनी (नाला)समेत सुरक्षित हुने बताउनुभयो ।

सो वस्तीमा पैनी (नाला) ले खेतमा सिंचाईको लागि सहजता रहेको वताउनुहुदै उहाँले सडकमा दुई तिर पर्खाल र सडक ढलाई भएपछि आवतजावतमा सहज हुने वताउनुभयो । यो भन्दा अगाडी नालाको कारणले सडक साँधुरो भई आवतजावतमा समस्या हुनुका साथसाथै सडक वारिपारि गर्न समेत वस्तीका वासिन्दालाई असहज हुने गरेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले स्थानीयबासीको ईच्छानुसार नै योजना सञ्चालन गरिएको वताउनुभयो । उहाँले पटक पटक स्थानीयबासीहरुले नालालाई वचाउँदै सडक फराकिलो गरिदिन गरेको आग्रह वमोजिम नै सडक निर्माण कार्यको शुरुवात गरिएको बताउनुभयो ।
शिलान्यास कार्यक्रममा एकडारा गाउँपालिकाका उपाध्यक्ष महजवी खातुनसहित विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।