शैक्षिक संस्थाहरु र यातायात खोलाऊ – Jaleshwortoday

शैक्षिक संस्थाहरु र यातायात खोलाऊ

 September 12, 2025  
Jaleshwor Today Editorial

जेन—जेड युवा पुस्ताहरुले पछिल्लो २७ घण्टामा आधुनिक नेपाल बनाउन देखाएको साहस र बलिदानलाई उच्च सम्मान गर्नु पर्दछ । देश अहिले शुन्यताको अवस्थामा रहेको सर्वविदितै छ । यस परिवेशमा समग्र नेपालको कुशल नेतृत्व गर्न उम्मेदबार चयन गर्ने गराउने प्राथमिक अभिभारा पनि जेन—जेड पुस्ताकै रहेको देखिन्छ । सबैको सल्लाह तथा विचारलाई चिन्तन गर्दै उपयुक्त तथा उत्तम निर्णय गर्ने बेला रहेको देखिन्छ ।
जेन—जेड जनकपुरधाम युवा पुस्ताहरुले भाद्र २३ गते जनकपुरधाम उपमहानगरपालिका भित्रका सबै विद्यालय तथा कालेज बन्द गर्न जारी गरेको अनुरोध पत्र बमोजिम यस उपमहानगर भित्रका सबै शैक्षिक संस्थाहरु बन्द गरिएका थिए जुन अहिले पनि यथावत छ । जनकपुरधामका शैक्षिक संस्थाहरुले पनि जेन—जेडका आन्दोलनलाई सफल पार्न सहयोग तथा सदभाव कायम गरेको देखियो ।
अहिले जेन—जेडकै माँग बमोजिम देशको नेतृत्व चयनदेखि अन्य कार्यहरु अगाडी बढीरहेको छ । अब जनकपुरधामको जनजिवन सहज तथा चलायमान बनाई दिनु पर्ने प्रमुख जिम्मेबारी पनि जेन—जेड जनकपुरधामकै रहेको देखिन्छ ।
विद्यार्थीहरुको बन्द भएको पठ्नपाठ्न प्रति गहिरो चिन्ता ब्यक्त गर्दै विभिन्न ठाउँहरुबाट अभिभावक तथा विद्यार्थीहरुले शैक्षिक संस्थाहरु मार्फत बन्द विद्यालय तथा कालेज सिघ्र सुचारु गरिनु पर्दछ भन्ने दबाब तथा सुझावहरु आइरहेको बुझिएको छ । जेन—जेड जनकपुरधाम तथा सम्बन्धित सरोकारबालाहरुले यसलाई गम्भीरतापूर्वक लिई विद्यालय शान्तिपूर्ण वातावरणमा सिघ्र संचालन गर्न गराउन सहयोग गरी दिन आवश्यक रहेको देखिन्छ । यसको साथै यातायात समेत खोल्न खोलाउन यातायात व्यवसायी संघ तथा सरोकारबालाहरुले पहल गर्न आवश्यक रहेको देखिन्छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय हबाई यातायात संचालनमा आइसकेपछि सडक यातायात बन्दको कुनै औचित्य नरहेकोले सिघ्र सुचारु गर्न जरुरी देखिन्छ । सडक यातायात बन्दले लाखौं यात्रुहरुको आवागमन प्रभावित भएको छ । काठमाडौं लगायत विभिन्न ठाउँहरुमा कैयौं मान्छेहरु फसेका छन् । महँगो हवाईजहाजको भाडा तिर्न सबैको लागि सहज नभएकोले सडक यातायात पनि खोलिनु पर्ने जरुरी देखिन्छ ।